नेपाल टेलिकमले आजदेखि शेयरधनीलाई लाभांश वितरण गर्ने

0
Shares

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) को पुस २९ गते सम्पन्न बाह्रौँ वार्षिक साधारण सभाबाट अनुमोदन भएको लाभांश आज (माघ १ गते बुधबार) देखि शेयरधनीहरुलाई वितरण गर्ने भएको छ। मंगलबार सम्पन्न सभामा सो जानकारी दिइएको हो।

त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न साधारण सभाले पारित गरे बमोजिम आर्थिक वर्ष २०७५/७६ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४५ रुपैयाँका दरले शेयरधनीहरुलाई लाभांश रकम एनएमबी बैंक मार्फत वितरण हुनेछ। टेलिकमले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेकाले पुस १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र लाभांश पाउँछन् ।

सभाले आफनो मौज्दातमा रहेको रकम धितोपत्र बजार (बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको शेयर तथा ऋण पूँजी), विद्युत र उर्जा उत्पादन, प्रशारण वा वितरण गर्न र इन्फ्रस्ट्रचर शेयरिङ्ग गर्ने प्रयोजन समेतको लागि अन्य सेवामूलक कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा ऋण समेत लगानी गर्न प्रवन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

साधारण सभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो। उक्त सभाले आर्थिक वर्ष २०७५/७६ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७६/७७ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाश जंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले शेयरधनीहरूको लगानीको प्रतिफल सुनिश्चित हुनेगरी कम्पनीको दीर्घकालीन विकास तथा समृद्धिको लागि सञ्चालक समिति क्रियाशील रही आएको बताए। उनले कम्पनीलाई सबल, अग्रणी संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुलुकको विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सञ्चार तथा सूचना प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने सिलसिलामा टेलिकमको योगदान महत्वपूर्ण रहेको बताउदै उनले देशव्यापी रुपमा आवश्यक पूर्वाधार विकासमा कम्पनीले विशेष ध्यान दिएको बताए । त्यसैगरी कम्पनीले जिम्मेवार राष्ट्रिय निकायको रुपमा सामाजिक उत्तरदायित्वका कार्यहरु र संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनका लागि गरेका कार्यको समेत जानकारी दिए ।

गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आफ्नो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्धता उनको थियो। बढ्दो विश्वव्यापीकरणसँगै दूरसञ्चार क्षेत्रमा भइरहेको प्रतिस्पर्धाको कारणले निर्णय प्रक्रिया, कार्यशैली, संस्थागत संरचनामा सुधार गरी कम्पनीलाई परिवर्तनमुखी, व्यावसायिक तथा गतिशील संगठनको रुपमा विकास गर्न कम्पनीको संरचनालाई परिमार्जन गरिएको बताए।

कम्पनीमा सञ्चालनमा रहेका योजनाहरू निर्धारित समयमा सम्पन्न गर्न, सोको अनुगमन गर्न र कम्पनीका काम कारवाहीलाई प्रभावकारी बनाउन कम्पनी व्यवस्थापन र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरिएको बताए। यसबाट योजनाहरू निर्धारित समयमा कार्यान्वयन हुने, पूर्वाधार तथा नेटवर्क विस्तार हुने र कम्पनीको समग्र राजस्व तथा ग्राहक आधार वृद्धि हुनुका साथै प्रादेशिक संरचना अनुरुप कम्पनीको संस्थागत संरचनाको प्रारुपलाई परिमार्जित गर्नसमेत कम्पनीबाट पहल भइरहेको साधारण सभामा जानकारी दिइयो।

कम्पनीका अध्यक्षले साधारण सभामा शेयरधनी महानुभावहरुले उठाउनु भएका विभिन्न सुझावहरु प्रति आभार व्यक्त गर्दै प्राप्त सुझावहरुको नीतिगत र व्यावहारिक रुपले सम्भव भएसम्म कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

सरकारी राजस्वमा ३३.३१ अर्ब रुपैयाँ दाखिला

कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा कर तथा गैरकर वापत सरकारी राजस्वमा ३३.३१ अर्ब रुपैयाँ दाखिला गरेको छ। इस अवधिमा कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले वृद्धि भई ५४.८३ र ४८.४१ प्रतिशत पुगेको छ।

प्रविधिको तीब्र विकास भएसँगै विश्वव्यापी रुपमा भ्वाइस सेवाको व्यापारमा शिथिलता आई भ्वाइसको व्यापार क्रमिक रुपमा डाटा तथा अन्य भ्यालु एडेड सेवामा स्थानान्तरण हुने क्रममा रह्यो। तीब्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महशुलमा व्यापक कटौतीका बाबजुद कम्पनीले कुल राजस्व ४३.८४ अर्ब संकलन गरेको छ भने ९.७६ अर्ब मुनाफा कायम गर्न सफल भएको छ।

फोरजी एलटीई मोबाइल सेवा साथै धेरै सेवा विस्तार गरिने

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले विभिन्न कारणले कम्पनीको नाफा घट्न गएको बताउँदै वायरलेस प्रविधिको एलटिई एडभान्सडस् फोरजी एलटीई मोबाइल सेवाको विस्तार गरिने बताए।

एउटै लाइनबाट गुणस्तरीय टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन समेत चलाउन सकिने एफटीटीएच प्रविधिको विस्तार, डाटाको मागलाई बढाउने भ्यालु एडेड सेवाहरूको विस्तार साथै अन्तर्राष्ट्रिय रोमिङ सेवाको विस्तार र सेवाहरूको गुणस्तर सुधार लगायतका कार्यहरूमा कम्पनीले थप तीब्रता दिएको बताउँदै अध्यक्ष सुवेदीले यसबाट चालू आर्थिक वर्षदेखि कम्पनीको राजस्व वृद्धि हुने अपेक्षा गरिएको जानकारी दिए।

टेलिकमले मुलकको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउँदै गुणस्तरीय तथा भरपर्दो दूरसञ्चार सेवाहरू सर्वसुलभ तरिकाले उपलब्ध गराउन चालू आर्थिक वर्षमा देशभरी फोरजि एलटिई प्रविधिको जिएसएम सेवा उपलब्ध गराउनुुका साथै नेटवर्क कभरेज नभएका र आयको दृष्टिकोणले तुलनात्मकरुपमा पछि परेका क्षेत्रहरूमा जिएसएम सेवा विस्तार गर्ने भएको छ।

यस्तै वायरलाइन सेवातर्फ अप्टिकल फाइबर नेटवर्क/एफटीटीएच प्रविधिबाट स्तरीय र भरपर्दो फिक्सड बोर्डब्याण्ड इन्टरनेट तथा भ्वाइस सेवा विस्तार गर्ने, दूरसञ्चार सेवा प्रदान गर्नका लागि मध्यपहाडी लोकमार्ग तथा सोसँग जोडिएका क्षेत्रहरूमा अप्टिकल फाइबर नेटवर्क तथा माइक्रोवेभ रेडियो लिंक विस्तार गर्ने , कम्पनीले उपलब्ध गराउने सेवाहरूमा नियामक निकायले तोकेको मापदण्ड अनुसारको केपिआई (Key Performance Indicators) कायम राखी नियमित अनुगमन तथा निरीक्षण गर्ने, कम्पनीद्वारा प्रदत्त दूरसञ्चार सेवाहरूमा विभिन्न सूचनामूलक मनोरञ्जनात्मक तथा नवीनतम भ्यालु एडेड सेवाहरू सञ्चालन गरी राजस्व वृद्धि गर्ने, सेवामा अवरोध आउन नदिन अन्य सिस्टमका अतिरिक्त विद्यमान बिलिङ सिस्टममा आवश्यक क्षमता वृद्धि गर्ने, सेवाहरूको विकास, विस्तार र प्रभावकारी बजारीकरण गर्न अनुसन्धान तथा विकास कार्यलाई निरन्तर अघि बढाउने  लक्ष्यहरू निर्धारण गरिएको जानकारी दिइयो।