शेयर बजारमा अल्पकालिन लगानी मार्फत कमाउन अझै समय लाग्ने

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताको चार दिनमा ७१ अंकले वढेको छ । नेप्से परिसूचकमा आएको निरन्तरको उच्च वृद्धि शेयर बजार बुलिस ट्रेण्डमा नै लागेको भन्ने भने सकिदैन ।

निरन्तर घट्दो क्रममा रहेको शेयर बजारमा एकैपटक उच्च अंकको वृद्धि आउदा वढेको गतिमा नै बजार सूचक घट्न सक्ने जोखिम पनि उत्तिकै हुन्छ । नयाँ लगानीकर्ता बजारमा प्रवेश गरेर दिर्घकालीन लगानी गरेको खण्डमा मात्र पछिल्ला दिनहरुमा देखिएको उच्च अंकको सुधार टिक्ने विश्लेषकहरु बताउछन् ।

बजार परिसुचकमा आएको उच्च अंकको वृद्धि मात्र नभै कारोबार रकम पनि बुलिस बजारको अनुपातमा पुगेको हुँदा सकारात्मक हुने आधार भने छ । पछिल्लो समयमा नेपाल राष्ट्र बैंक तथा कर कार्यालयले ऋणीलाई कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरेपछि वित्तीय क्षेत्रमा कर्जाको माग घटेको छ ।

जसले गर्दा बैंकिङ प्रणालीमा कर्जा लगानी योग्य रकम भएर पनि लगानी गर्ने क्षेत्र नभएपछि त्यो पैसा शेयर बजारमा आउन थालेको ब्रोकरहरु बताउछन । “धितोपत्र दलालको कार्यालयमा नै गएर बैंकहरुले मार्जिन लोनका लागि विज्ञापन गरेका छन,” एक धितोपत्र दलालले भने,“सस्तो ब्याजदरमा सहज कर्जा पाएपछि लगानीकर्ता केही उत्साहित भने भएका छन ।”

वित्तीय प्रणालीको ब्याजदर घट्दो क्रममा हुनु, कर्जा लगानी योग्य रकम उपलब्धता हुनु तथा समग्र अर्थतन्त्र पनि विगतका केही वर्ष देखि निरन्तर सुधारको गतिमा हुनाले पनि शेयर बजारका सकारात्मक भएको ती ब्रोकरले बताए । शेयर बजार विगत केही वर्ष देखि निरन्तर घट्दो क्रममा रहेको हुनाले अब सुधारको विकल्प नभएको उनको भनाई छ ।

तर, बजारमा अनावश्यक लगानीकर्ताको मनोवल गिराउने खालको वृद्धिले भने बजारको स्थायीत्व नदिने उनको तर्क छ । अहिले उच्च अंकले वढाएर नाफा बुक गर्नका लागि ठुला लगानीकर्ताले शेयर आपुर्ति वढाएको खण्डमा फेरी बजार उच्च अंकले नै घट्न जान्छ । अहिलेको समयमा दिर्घकालीन लगानीका लागि उपयुक्त समय रहेको बताउदै ति दलाल भन्छन,“ शेयर कारोबारीका लागि भने बजारमा अझै एक सय जती माथि जानु पर्छ, बजारको मार्जिन मार्फत कमाउनका लागि अहिलेको इण्डेसमा धेरै जोखिम देखिन्छ ।”

यो साता नेप्सेमा बुधबार सहित गरेर ४ दिन शेयर कारोबार भएको छ । यी ४ दिनमा मंगलबार मात्र नेप्सेमा ७ अंकले घटेको भएपनि समग्रमा ७१ अंक भन्दा धेरैले वढेको छ । यो साताका हरेक दिन नेप्सेको कारोबार रकम पनि बुधबार बाहेक हरेक दिन एक अर्ब बढीको रहेको छ ।

दिर्घकालीन लगानीका लागि अहिलेको बजारमा उपयुक्त अवसर भएको बताउदै एक विश्लेषकले भने,“दोस्रो बजारमा सुधारको विकल्प छैन तर, आगामी केही दिनमा नै नेप्सेमा समान्य करेक्सन आउनसक्छ ।” शेयर बजारको मार्जिन वाट कमाउने गरी बुलिस टे«ण्ड सुरु भैनसकेको ती विश्लेषकको तर्क छ । “नेप्से परिसूचक १३ सय भन्दा माथि जान केही समय लाग्न सक्छ, १३ सय विन्दुवाट माथि गएको खण्डमा १३५० विन्दू भन्दा माथि गएपछि मात्र बजारको मार्जिन वाट कमाउने गरी अल्पकालीन लगानी सुरु गर्दा उपयुक्त हुन्छ ।”

विगत देखि नै शेयर बजार र बैंकिङ क्षेत्र एक अर्काका परिपुरकको रुपमा रहदै आएका छन । बैंकले सहज कर्जा प्रबाह गरेको अवस्था शेयर बजारले सुधार लिने गरेको छ । त्यसैगरी बैंकिङ क्षेत्रको व्याजदर घट्दा पनि शेयर बजार उकालो लाग्ने गरेको छ । तर, नेप्से परिसूचक अर्थतन्त्रलाई आधार मानेर घट्ने वा वढ्ने भनेको गरेको कम नै छ । पछिल्ला दिनहरुमा सरकारका नीतिहरुले बैंकहरुको कर्जा प्रबाहमा असर गरेको छ ।

त्यसैगरी सरकारलाइ ठग्ने व्यक्तिले बैंक वित्तीय संस्थावाट कर्जाको उपभोग गर्न नसक्ने व्यवस्थाले पनि बैंकहरुमा लगानी योग्य रकमको उपलब्धता देखिएको हो । त्यसका साथै पैसा भएकाहरुलाई पनि लगानीका अन्य क्षेत्रहरुमा पनि नभएकाले शेयर बजार सुधारको गतिमा देखिएको हो ।

बुधबार मात्र नेप्से परिसूचक २०.८५ अंकले वढेको छ । नेप्से परिसूचक संगै बुधबार कारोबार रकम समेत ९० करोड ४८ लाख रुपैयाँ पुगेको छ । यो कारोबार रकम सोमबार मंगलबारको तुलनामा थोरै भएपनि नेप्सेको औसत दैनिक कारोबार भन्दा धेरै हो । बुधबार नेप्सेमा १७७ कम्पनीको १० हजार ७ सय ३ कारोबारवाट ३० लाख ५५ हजार कित्ता सेयर ९० करोड ४८ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।

बुधबार नेप्सेमा कारोबार भएका अधिकांस कम्पनीको सेयर मूल्य वढेको छ । नेप्सेमा कारोबार भएका धेरै समुहगत परिसूचक पनि वढेका छन । नेप्सेमा उत्पादन मूलक १६.०६, अन्य ०.८४ र होटल समुह भने ३.५४ अंकले घटेका छन ।