उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा सहकारी समस्यामा


नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्दा वर्तमान समस्या सिर्जना भएको बताएका छन् ।
 
आज भरतपुरमा प्रेस चौतारी चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारीले नेपालमा बचतको संस्कार विकास गरे पनि उत्पादक र उपभोक्ताबिच पुलको काम गर्न नसकेको बताए । 
 
“देशभरका अधिकांश सहकारी उत्पादनमूलक काममा नलाग्दा समस्या भएको हो”, ज्ञवालीले भने, “बचत उठाउने र महँगो ब्याजमा ऋण दिने गरेकाले यस्तो अवस्था आएको हो ।” सरकारी निकायले समयमा नै नियमन गर्न नसक्दाको फाइदा केही सहकारी सञ्चालकले लिएका उनको भनाइ थियो ।
 
देशभरका ६० हजार सहकारीमा आठ खर्ब रुपैयाँ बचत रहेको भन्दै उपमहासचिव ज्ञवालीले बचत गर्ने संस्कृतिको विकासमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताए । सहकारीमा देखिएका समस्या समाधानका लागि सरकारले ठोस् कदम चाल्नुपर्नेमा उनले जोड दिए । उनले देश बन्छ भनेर युवामा ऊर्जा प्रदान गर्ने काममा सबै लाग्नुपर्ने जनाए । -रासस
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।