यू-१९ विश्वकप: अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल, दुबै टिमलाई खेल जित्नै पर्ने दबाब


आइसिसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ । दिउँसो पौने दुई बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हुने खेल दुवै टिमका लागि महत्वपूर्ण छ ।

सुपर-६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ । यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए । आइसिसीले समूहका शीर्ष तीन टिमलाई सुपर-६ खेलाउँदैछ । कुल १२ टिमले दुई समूहमा सुपर-६ खेल्नेछन् । दुवै समूहका शीर्ष २-२ टिमले सेमिफाइनल खेल्नेछन् ।

आइतबार न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको नेपाल बुधबार पाकिस्तानसँग ५ विकेटले हार्‍यो । नेपालका ओपनिङ ब्याटर विपिन रावलले अफगानिस्तानसँगको खेललाई लिएर आफूहरु साकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।

‘हामी अफगानिस्तानसँगको खेलका लागि सकारात्मक छौं । हामी एक अर्कालाई विश्वास गर्छौं । हामी तयार छौं र अफगानिस्तानसँगको खेलमा ब्याटिङ र फिल्डिङमा विशेष ध्यान दिनेछौं,’ उनको भनाइ थियो ।

नेपालले दुई महिनाअघि अफगानिस्तानसँग एसिया कपमा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपाल पराजित भएको थियो । न्युजिल्यान्डविरुद्ध ९१ रन जोडे पनि उत्कृष्ट बलिङ गर्दै अफगानिस्तानले न्युजिल्यान्डको ९ विकेट लिएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।