बाँदर नियन्त्रणका लागि रूख काट्ने अभियानको विरोध


बाँदर नियन्त्रणका लागि ‘मेरो रूख म काट्छु’ अभियान चलाउनेबारे पोखरा महानगरपालिका–१९ ले गरेको निर्णयको विरोध भएको छ । वडा कार्यालयले सोमबार सार्वजनिक सूचनामार्फत १० दिनभित्र घर वरपरका रूख कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडाबासीलाई सूचित गरेको थियो । 
 
वडाको उक्त निर्णय सार्वजनिक भएपछि वातावरणकर्मीलगायतले विरोध जनाएका हुन् । महानगरपालिकाका प्रमुख धनराज आचार्यले १९ नं वडाको रूख कटान गर्ने अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐनबमोजिम महानगरपालिकाबाट रूख कटानको कुनै निर्णय नभएको भन्दै सो कार्य नगर्न/नगराउन सेचत गराइएको उनले बताए ।
 
महानगरप्रमुख आचार्यले वडाले जारी गरेको उक्त सूचनाको भ्रममा नपर्नसमेत वडाबासीलाई अनुरोध गरेको छ । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदरबाट अति प्रभावित क्षेत्र लामाचौर र पुरुन्चौरमा बाँदर नियन्त्रणका लागि घर वरपरका रूख काट्न वडाबासीलाई सूचित गरेको थियो । वडाको उक्त सूचनाप्रति सामाजिक सञ्जालमा पनि टीकाटिप्पणी भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।