एक खर्ब ३६ अर्ब लगानी प्रस्ताव सहित ६ महिनामा २११ उद्योग दर्ता

0
Shares

चालु आवको ६ महिना अर्थात साउनदेखि पुसमसान्तसम्म २११ वटा स्वदेशी तथा विदेशी लगानीका उद्योगहरु दर्ता भएका छन्। उद्योग विभागका अनुसार ती उद्योगहरुले कुल एक खर्ब ३६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेका छन् ।

गत आवको यसै अवधिमा १४५ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका थिए । ती उद्योगहरुले एक खर्ब ३९ अर्ब लगानी प्रस्ताव गरेका थिए । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा उद्योग दर्ता संख्या ६६ ले घटेको छ भने लगानी प्रतिवद्धता ३ अर्ब कम हो ।

विभागका अनुसार चालु आवको ६ महिनाको अवधिमा २८ वटा ठूला उद्योग, १६ वटा मझौला तथा १६७ वटा साना उद्योगहरु दर्ता भएका हुन् । पछिल्लो ६ महिनाको अवधिमा भएका २११ नयाँ उद्योगले कम्तीमा १३ हजार ६७० जनालाई रोजगारी प्राप्त हुने बताइएको छ । विभागका अनुसार गत आवको ६ महिनाको अवधिमा ३९ वटा ठूला उद्योग, ४१ वटा मझौला तथा ६५ वटा साना उद्योगहरु दर्ता भएका थिए।

विभागका अनुसार यस अवधिमा २२६ विदेशी उद्योगको कुल २२ अर्ब ३३ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको छ। गत वर्षको यहि अवधिमा १३१ विदेशी उद्योगको कुल १७ अर्ब ३० करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको थियो। गतवर्षको तुलनामा ५ अर्ब बढीले विदेशी लगानी बढेको छ ।

उद्योग विभागका अनुसार पुस महिनामा मात्रै १ अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार २७ वटा नयाँ उद्योगमा उक्त लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार चालु आवको पुस महिनामा स्वदेशी तथा विदेशी उद्योगहरु लगानी ३२ उद्योगहरु दर्ता भएका छन । पुसमा ६ वटा ठूला उद्योग, एक मझौला तथा २५ वटा साना उद्योगहरु दर्ता भएका हुन् । यी उद्योगहरुमा १२ खर्ब ३१ अर्ब लगानी हुने र जसाबाट २ हजार १८१ जनाले रोजगारी पाउने विभागले जनाइएको छ ।

यस्तै, विभागका अनुसार चालु आवको पुस महिनामा मात्रै १ अर्ब ७३ करोड रुपैयाँ बराबरको विदेशी लगानीका ३७ परियोजना स्वीकृत गरेको जनाएको छ । जसमा २ हजार ४७ जनाले रोजगारी पाउने जनाइएको छ ।

चालु आवको ६ महिनाको अवधिमा उद्योग विभागमा एउटा मात्रै प्याटेन्ट दर्ता भएको छ । यस्तै, ७ वटा डिजाइन दर्ता भएका छन् भने २ हजार ५३८ ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।