माडी जलविद्युत् आयोजना निर्माणका लागि प्रारम्भिक प्रक्रिया शुरु

0
Shares

सरकारले १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि प्रारम्भिक प्रक्रिया शुरु गरेको छ । चिनियाँ राष्ट्रपतिले गत असोज २५ र २६ गते गर्नुभएको नेपालको दुई दिवसीय राजकीय भ्रमणको क्रममा भएको सहमतिका आधारका सरकारले आयोजनाको काम शुरु गरेको हो ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा नै सो आयोजना अगाडि बढाउनेसम्बन्धी समझदारीपत्रमा सरकारी स्वामित्वको एचआइडिसिएल र चीनको पावर चाइनाका बीचमा समझदारी भएको थियो । सोही समझदारीका आधारमा आयोजना थप कामका लागि आज रोल्पाको माडीचौरमा आयोजनाको सम्पर्क कार्यालय स्थापना गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनले आयोजना क्षेत्र माडीचौरमा सम्पर्क कार्यालयको स्थापनासँगै आयोजनाको सम्भाव्यता अध्ययनको काम शुरु भएको हो । सो आयोजना प्रदेश नं ५ को ठूला मध्येको एक आयोजना हो ।

आयोजनामा चीनकै ठूलो जलविद्युत् लगानी तथा उत्पादन कम्पनी पावर चाइना र नेपालको सरकारको स्वामित्वको हाइड्रो इलेक्ट्रिसीटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानी हुनेछ । सम्पर्क कार्यालयको उद्घाटन गर्दै ऊर्जामन्त्री पुनले माडी आयोजना प्रदेश नं ५ कै ‘गेम चेन्जर’ परियोजना हुने बताउनुभयो । “राप्ती बेसीनमा १४ वटा विभिन्न आयोजना निर्माण हुने चरणमा छन् । ती मध्येको महत्वपूर्ण यो आयोजना प्रदेश नं ५ कै गेमचेन्जर हुनेछ,” मन्त्री पुनले भने ।

उनले आयोजना समयमै निर्माण सम्पन्न हुने उल्लेख गरे । “यस्ता आयोजनाको सम्भाव्यता अध्ययन दुई वर्ष लाग्छ तर यो आयोजनाले १८ महिनामा विस्तृत अध्ययन सक्ने र निर्माण प्रक्रियामा जानेछ”, मन्त्री पुनले भने, “पावर चाइना र एचआइडीसिएलले यो आयोजनाको निर्माण गर्दैछन् । दुवै अनुभवी कम्पनी हुन् र समयमै गुणस्तरीय रूपमा निर्माण सम्पन्न हुने विश्वास छ ।”

मन्त्री पुनले माडी जलाशययुक्त बहुउद्देश्यीय आयोजना भएको बताउँदै जलविद्युत् आयोजना सम्पन्न भएलगतै त्यहाँको पानीलाई दाङ लगेर सिचाइँसमेत हुने बताए । यो आयोजनाले ‘समृद्ध रोल्पा, सुखी रोल्पाली’को हाम्रो आकांक्षालाई पूरा गराउन सघाउ पु¥याउने मन्त्री पुनको विश्वास छ ।

कार्यक्रममा पावरचाइना यूरेसियाका उपाध्यक्ष पान टेनक्वूले यो आयोजना निर्माण तथा लगानी गर्न पाउँदा गौरवान्वित भएको बताए । उनले पावर चाइनाले नेपालमा १० आयोजना निर्माण गरेको बताउँदै यो आयोजना समयमै सम्पन्न गर्ने बताए।

एचआइडीसियलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले नमूना माडी जलाशययुक्त आयोजनालाई नमूना जलविद्युत् आयोजनाको रूपमा निर्माण गरिने बताए । “आयोजना समयमै सक्छौँ । यो नमूना आयोजना बन्नेछ”, उनले भने, “त्यसका लागि हामीले आजबाटै आयोजना स्थलको काम सुरू गरिसकेका छौँ । स्थानीयको पूर्ण सहयोग हने प्रतिबद्धताबाट हामी उत्साहित छौँ ।” आयोजना स्थल रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पाको गौरवको रूपमा रहेको आयोजनाका लागि मुआब्जा वितरणलगायतका सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।