शेयर बजारको आकार एक खर्ब ३२ अर्बले बढ्यो

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो सातामा मात्र ९७ अंकले बढेको छ। शेयर बजार सूचकमा सुधार आएपछि समग्र बजारको आकार समेत बढेको हो ।

अघिल्लो सातासम्ममा १५ खर्ब ४६ अर्ब हाराहारीमा रहेको नेप्सेको कूल बजार पूँजीकरण नेप्से सूचकमा आएको सुधारले यस साता १ खर्ब ३२ अर्ब ६७ करोडले बढेर १६ खर्ब ७९ अर्बमा पुगेको छ।

धितोपत्र बोर्डका अनुसार गत मंसिर अन्तिममा नेप्सेको कूल बजार पूँजीकरण १४ खर्ब ६६ अर्ब रुपैयाँ मात्र थियो।यसबीचमा कूल बजार पूँजीकरण २ खर्ब १३ अर्बले बढिसकेको छ। पछिल्लो एक महिनामा मात्रै नेप्से सूचक १४० अंक बढिसकेको छ।

नेप्से परिसूचक बढ्दा बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ। नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमीका हुन्छ।

बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण मानिन्छ।

बजार पूँजीकरण बढ्नु भनेको ती दिनमा किन्ने लगानीकर्ताको लागि नाफा भएको बुझिन्छ। बजार पूँजीकरण बढ्नु भनेको शेयरधनीको सम्पत्ति बढेको हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ। नेप्से परिसूचक, बजार पूँजीकरण र कारोबार रकम सबैमा सुधार आउनु भनेको शेयर लगानीकर्ताका लागि सकारात्मक हो।