राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष सदस्य डा. उमाशंकर प्रसादले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
माघ १८ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
केही समय अघि आयोगको गठन आदेश संशोधन गरी एक सदस्य थप गर्ने निर्णय सरकारले गरेको थियो । आयोगमा यसअघि एक उपाध्यक्ष र ६ जना सदस्य रहने व्यवस्था थियो । तर, सरकारले हालै सदस्य थप गरी सात पुर्याउने निर्णय गरेको थियो । नवनियुक्त सदस्य उमाशंकरको सपथसँगै आयोगले पूर्णता पाएको छ ।
प्रध्यापन पेशामा समेत सक्रिय रौतहट स्थायी घर भएका उमाशंकर यसअघि पनि आयोगको सदस्य भइसकेका छन् । उनी स्वास्थ्य बीमा बोर्डको पूर्व अध्यक्ष समेत हुन् । डा. उमाशंकरले भारतको जेएनयूबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया