विदेशी मुद्रा सञ्चिति १८% ले बढ्यो, साढे १४ महिनाको वस्तु आयात धान्ने

0
Shares

चालु आर्थिक वर्षको ६ महिनामा विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्ममा विनिमय सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । जुन गत असारको तुलनामा १८ प्रतिशत बढी हो ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड विदेशी विनिमय सञ्चिति रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति १३ अर्ब ६९ करोड पुगेको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० पुस मसान्तमा १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १६ खर्ब २३ करोड पुगेको छ । जुन गत असारको तुलनामा १८.९ प्रतिशतले बढी हो। गत असारमा यस्तो सञ्चिति १३ खर्ब ४५ अर्ब ७८ करोड रहेको थियो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८० पुस मसान्तमा ११.८ प्रतिशतले वृद्घि भई २१६ अर्ब ३५ करोड कायम भएको छ। २०८० पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।