विकासका लागि आन्तरिक स्रोत प्रयाप्त छैन, वैदेशिक सहायता आवश्यक : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको विकासका लागि आन्तरिक स्रोत प्रयाप्त नभएको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ विराटनगरद्वारा आज यहाँ आयोजित नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकको बढ्दो अपेक्षा पूरा गर्न वैदेशिक सहायता आवश्यक रहेको स्पष्ट्र पारे ।

अर्थमन्त्री डा खतिवडा मुलुक सङ्घीयतामा गइसकेपछि तीन वटै सरकारको सेवा प्रवाहलाई वृद्धि गर्न आन्तरिक र बाह्य स्रोतको खोजी भइरहेको धारणा राख्दै देशलाई प्राप्त हुने वैदेशिक सहयोगबाट पूर्वाधार निर्माण र जनताको जीवनस्तर माथि उकास्न खर्च गरिनेछ भने । उनले वैदेशिक सहयोगलाई सरकारले भौतिक पूर्वाधारको विकासमा परिचालन गर्ने र यसबाट शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सुधार हुने भन्दै वैदेशिक सहयोगसँगै नेपालमा प्रविधि, क्षमता र ज्ञानमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वैदेशिक सहयोगले संविधान र सङ्घीयता कार्यान्वयनमा मद्दत पुग्ने विचार व्यक्त गरे । उनले सङ्घीयता कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय भइरहेको प्रकाश पार्दै स्वीजरल्याण्ड सरकारबाट प्राप्त भएको यो सहयोगले प्रदेशको विकासमा कोशे ढुङ्गा सावित हुने बताए ।

नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भन क्याप्लरले सङ्घीयतालाई सफल बनाउन प्रदेश सरकार सफल हुनुपर्छ भन्दै नेपालको आर्थिक र सामाजिक विकासमा स्वीजरल्याण्ड सरकारले सहयोग गरिरहने कुरामा जोड दिए । चार वर्षका लागि स्वीजरल्याण्ड सरकारबाट प्रदेश नं १ का प्राप्त हुने एक अर्ब सहयोग कार्यक्रमको पत्रमा अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र स्वीजरल्याण्डका राजदूत क्याप्लरले हस्ताक्षर गरेका छन् ।