अन्तर्राष्ट्रिय बजारमा बढेपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्

0
Shares

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी आए पनि नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखेको छ ।

पछिल्लो पटक इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र पेट्रोलमा केही मूल्य वृद्धि भएर आएको भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत् राखिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ बमोजिम प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो ।

निगमको स्वर्ण जयन्तीका अवसरमा सर्वसाधारणलाई पेट्रोलियम पदार्थमा केही सहुलियत दिने उद्देश्यले इन्धनको मूल्य समायोजन नगरिएको उनले बताए। निगमले गत पुस २६ गते स्वर्ण जयन्ती मनाएको थियो ।

आइओसीले हरेक महिनाको १ र १५ तारिखका दिन निगमलाई नयाँ बिक्री मूल्यसूची पठाउँदै आएको छ । सोही मूल्यलाई आधार मानेर निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्यसूची निर्धारण गर्दै आएको छ । निगमले पेट्रोल प्रतिलिटर ११०, डिजेल र मट्टीतेल प्रतिलिटर १००, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर र आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ९४.५० तथा एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ३५० बिक्री मूल्य तोकेको छ ।

अहिलेको बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर तीन, डिजेलमा चार, हवाई इन्धनमा १० नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिन्डर १६२ घाटामा रहेको छ । कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष ‘आर्थिक स्वास्थ्य’ मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो लाग्न थालेको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा करीब आठ अर्ब ७५ करोड (करपछिको) मुनाफा आर्जन गरेको थियो ।