मौरीपालन व्यवसायले बदलिएको भाग्य


सुन्दरबजार नगरपालिका वडा नंं ५ का ४६ वर्षीय मीनबहादुर गुरुङ आफूले गर्दै आएको सिकर्मीको काम छाडेर विसं २०६८ मा थप आयआर्जनका लागि कतार गए । त्यहाँ एक महिना काम गरेका उनले मासिक तलब नेपाली १७ हजार रुपैयाँ जति पाए ।

यति रकमले न परिवार खुसी हुने न आफू, न परिवारको भविष्य नै उज्ज्वल बनाउन सकिने भएकाले नेपालमै मौरीपालन व्यवसाय गर्नसके राम्रो हुने थाहा पाएर गुरुङ विदेश पुगेको एक महिनामै स्वदेश फर्किए । विदेश जाँदा लागेको एक लाख ५० हजार रुपैयाँ ऋण पनि तिर्न बाँकी नै थियो ।

स्वदेश फर्कनासाथ उनले छ–सात महिना सिकर्मीकै काम गरी आएको रकमले ऋणको ब्याज तिर्नुका साथै परिवारको गुजारा पनि चलाउँदै आए । अलिअलि रकम जम्मा गर्दै तीन हजार पाँच सय रुपैयाँले सुरुमा एक घार मौरीसहितको घार खरिद गरे । त्यसबेला मकैबारीमा काम गर्दैगर्दा मौरीमाथि उडेर गएकाले यस्तो उडेर जाने माहुरी किन्नुभन्दा चामल किनेको भए परिवारले खान त पाउने थिए भन्दै आफूलाई गाली गरेको गुरुङले सुनाए ।

पहिलोचोटी परिवारको गाली खाए पनि फेरि सोही रकम बराबरको अर्को एक घार मौरीसहितको घार खरिद गरेर काम थाल्नुभएका व्यवसायी गुरुङले विसं २०६९ मा युवा लक्षित कार्यक्रमबाट ४० हजार रुपैयाँ अनुदान प्राप्त भएपछि सो रकमबाट मौरीसहितको गोल घार थप्दै गएको र पछि यसको सङ्ख्या बढाउँदै अहिले दुई सय ७५ जति घार करिब सात रोपनी जग्गामा फैलिसकेको जानकारी दिए ।

विसं २०७३ मा सुजिता मौरीपालन तथा घार उद्योग तथा मौरीपालन स्रोत केन्द्र दर्ता गरेका उनले मौरीपालनमात्र नभई मौरीसम्बन्धी घार बनाउने, मौरीसम्बन्धी टोपी, स्टेन, आधार चाका, फ्रेमलगायत आवश्यक सामग्रीसमेत बनाउन थाले ।

सत्र जनालाई रोजगारसमेत दिलाएका व्यवसायी गुरुङले यतिका कर्मचारीबाहेक अन्यलाई समेत रुख काट्ने कामका लागि खटाउने गरिएको बताए । उनका अनुसार मह बिक्री, मौरिसहितका घार, खाली घार, मौरीसम्बन्धी विभिन्न उपकरणका सामग्री बिक्री गरेर बर्सेनि रु तीन करोडभन्दा बढीको कारोबार हुँदै आएको छ । आठ–नौ वर्षदेखि सबै खर्च कटाएर २५ लाख रुपैयाँ देखि ३६ लाख रुपैयाँ सम्म मुनाफा हुँदै आएको छ । प्रतिकिलो एघार सय रुपैयाँमा मह बिक्री गर्दा गत वर्ष तीन करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएकामा यस वर्ष हालसम्म आठ लाख रुपैयाँ कमाई भइसकेको छ ।

यहाँ उत्पादित मह लमजुङसहित काठमाडौँ, गोरखा, पोखरालगायत अन्य ठाउँमा पुग्ने गरेका र लमजुङबाहेक विगत पाँच वर्षदेखि कास्की जिल्लास्थित रुपा गाउँपालिकामा ७५ वटा र चिवतनमा ५० वटा मौरीको घारसमेत राखिएको व्यवसायी गुरुङको भनाइ थियो ।

“मौरीका लागि धेरै खटिराख्नु नपर्ने र समयअनुसार हेरचाह गरे पुग्ने भएकाले बेलाबेलामा आफैँ पुगेर हेरचाह गर्दै आएको उनले जानकारी दिए । आफूसहित श्रीमती र पढ्दै गरेका दुई छोरा तथा एक छोरीले सहयोग गर्ने गरेका छन् । व्यवसायी गुरुङले भने, “पहिला खानालाउन समस्या हुन्थ्यो, अरुसँग ऋण माग्नुपर्ने थियो, घरव्यवहार चलाउनै नसक्ने अवस्थामा थिएँ । गरिब भएकै कारण अरुले हेला गर्दर्थे । धेरै दःखकष्ट व्योहोर्नुपर्यो तर अहिले धेरै राम्रो भएको छ । त्यतिबेलाको दुःख भुलेको छु । मौरी व्यवसायबाटै सफलता हुँदा यस पेसाले मेरो भाग्य नै बदलियो ।”

प्राप्त आम्दानीबाट गाउँ पालिकाको वडा नंं ५ गहतेमै लाखौँ मूल्यका दुईतले घर, सुन्दरबजारमा एक रोपनी जग्गासमेत उनले जोडिसकेको छ । गायक पशुपति शर्माले गाएको गीत ‘मलाई अमेरिका पनि यहीँ, बेलायत पनि यहीँ, जापान पनि यहीँ, चिन्ता छैन केही’ भनेजस्तै भइरहेको छ भन्दै उनले गर्न सके विदेशमा मात्र होइन, आफ्नै गाउँठाउँमा पनि काम गर्न सकिनेमा जोड दिए ।

आफूले गर्ने कामको पहिचान गरेर अघि बढ्न सक्नुपर्ने सुझाव दिने व्यवसायी गुरुङ सुन्दरबजार नगरपालिकाबाट यस वर्ष उत्कृष्ट किसानका रूपमा सम्मानित हुनाका साथै विसं २०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत पुरस्कृत भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।