यस साता धितोपत्र बजारमा शेयर कारोबर मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै कारोबार रकमले नयाँ इतिहास कायम गरेको छ। बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो। नेप्सेको उकालो यात्रासँगै बजार एक हजार ३०० बिन्दु माथि पुगेर ‘बुलिस ट्रेन्ड’ लाई स्थापित ग¥यो।
लगानीकर्तामा विश्वास बढेसँगै बजारले नयाँ गति समेटेको जानकारले टिप्पणी गरेका छन्। साताभर पाँच कारोवार दिनमा बजार नयाँ बिन्दुमा पुगेर बन्द भएको छ। साताभर कूल १८३ कम्पनीका दुई करोड ११ लाख ९७ हजार १९५ कित्ता शेयर ६ अर्ब ६७ करोड २० लाख ६१ हजार ९३२ मा खरिद बिक्री भयो।
साताको पहिलो दिन आइतबार नेप्से ४२.६१ बिन्दुले बढ्यो। सो दिन कूल १७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता शेयर एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिद बिक्री भए। सोमबार नेप्से परिसूचक १५.१४ विन्दुले बढ्दा १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयरको एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोबार भयो।
आइतबार र सोमबार बजार बढ्दा मङ्गलबार भने परिसूचक नकारात्मक दिशामा मोडियो। मङ्गलबार नेप्से परिसूचक ७.४८ अङ्कले घट्यो। उक्त दिन १८३ कम्पनीका ३७ लाख ६६ हजार ९८२ कित्ता शेयर एक अर्ब दुई करोड ६४ लाख ४३ हजार ६६६ मा खरिद बिक्री भए।
माघको पहिलो दिन परिसूचक २०.८५ अङ्कले बढेर कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयरको रु ९० करोड ४८ लाख १३ हजार ९३२ मा कारोबार भयो। साताको अन्तिम दिन पनि परिसूचक बढ्ने क्रमले निरन्तता पायो।
बिहीबार नेप्सेमा २६ अङ्कको सुधार देखियो। बिहीबार कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयरको एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भयो।
यस्तै यस साता नेप्सेमा दुई कम्पनीका शेयर सूचीकृत भए। ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछि सात करोड २० लाख ८७ हजार ८१ कित्ता र सिर्जना फाइनान्सका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत भए ।
प्रतिक्रिया