मञ्जुश्री फाइनान्सको मुनाफामा छलाङ्ग, कसरी पुग्यो प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ?

0
Shares

मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आफ्नो खुद मुनाफामा छलाङ्ग नै मारेको छ। पछिल्लो तीन महिनामा मात्रै ११ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको यस फाइनान्सको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा १४ करोड ३३ लाख रुपैयाँ पुगेको हो।

दोस्रो त्रैमाससम्मको फाइनान्सको यो मुनाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६२८.४५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले १ करोड ९६ लाख रुपैयाँ मात्र खुद मुनाफा कमाएको थियो।

फाइनान्सले गैर सञ्चालन मुनाफाबाटै ९ करोड ८१ लाख रुपैयाँ मुनाफा आर्जन गरेपछि फाइनान्सको खुद नाफा ह्वात्तै बढेको हो। फाइनान्सको यो मुनाफा नियमित आम्दानी भने होइन। यस्तो आम्दानी सम्पत्ति बिक्री जस्तो कहिले काँही मात्रै हुने भएकाले फाइनान्सको मुनाफा वृद्धि यहि प्रकारले सधै भने बढ्ने गर्दैन।

यस अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ९ करोड ३१ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सले ५ अर्ब ४० करोड निक्षेप संकलन गरि १ अर्ब १४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। यसबाट फाइनान्सले ५७ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

८१ करोड ८१ लाख ३१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सले पहिलो त्रैमासको अन्त्यसम्ममा १६ करोड ३५ लाख रुपैयाँ जगेडा कोषमा, रिटेन्ड अर्निङ्गमा ९ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। 

गैर सञ्चालन मुनाफाले खुद नाफामा उच्च बढोत्तरी भएसँगै फाइनान्सको प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा बढेर ३५ रुपैयाँ ५ पैसा कायम भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९० पैसा रहेको थियो।

यस्तै फाइनान्सको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ७१ पैसा, मूल्य आम्दानी अनुपात ४.८२ गुणा, खराब कर्जा अनुपपात ३. ४३ प्रतिशत, कोषको लागत ९.२६ प्रतिशत, र आधार ब्याजदर ११ं ६४ प्रतिशत रहेको छ ।