गोदरेज ब्रान्डको आधिकारिक बिक्रेता इओएलको आम्दानी घट्दा रेटिङमा गिरावट

0
Shares

होम एप्लायन्सेस निर्माता कम्पनी–गोदरेजको आधिकारिक बिक्रेता–इओएल प्रालिको आम्दानीमा गिरावट आउँदा कम्पनीको रेटिङ प्रभावित भएको छ ।

व्यापारिक घराना चौधरी ग्रुपको लगानी रहेको कम्पनीले आर्थिक वर्ष २०२२ मा २ अर्ब १ करोड २० लाख सञ्चालन आम्दानी गरेको थियो । यस्तै आव २०२३ मा कम्पनीले १ अर्ब ७४ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । एक वर्षको अवधिमा कम्पनीको सञ्चालन आम्दानीमा ३६.६३ प्रतिशतको गिरावट देखिएको छ ।

कम्पनीको आम्दानीमा गिरावट आएसँगै रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई यस अघि दिएको अल्पकालीन कर्जा रेटिङमा घटुवा गरेको छ । यस अघि १ अर्ब ६० करोड अल्पकालीन कर्जाका लागि कम्पनीले ए३ रेटिङ गरेको थियो । तर अहिले सोही रकम बराबरको कर्जाका लागि कम्पनीले ए४ प्लस रेटिङ गरेको छ ।

आम्दानीमा गिरावट आउँदा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफामा समेत गिरावट आएको छ । आव २०२२ मा कम्पनीको सो नाफा कुल सञ्चालन आम्दानीको १४.७ प्रतिशत थियो भने आव २०२३ मा नाफा खुम्चिएर १३.१ प्रतिशत पुगेको हो ।

सन् २००९ मा स्थापना भएको कम्पनीले गोदरेजका विद्युतीय सामाग्री तथा होम एप्लायन्सेसहरुको आयात तथा बिक्री वितरण गरेको छ । यस्तै कम्पनी टिसीएल, केन्ट, एलिका लगायतका कम्पनीहरुको आधिकारिक बिक्रेता हो भने सिजी र सेन्सेईको राष्ट्रिको डिलर हो ।

कम्पनीमा निर्वाण चौधरीको ९९ प्रतिशत सेयर रहेको छ भने सरिका चौधरीको १ प्रतिशत सेयर हिस्सा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।