महत्वकांक्षी बजेटमा अर्थमन्त्री महत आफैंले लगाए कैंची, साढे १२ प्रतिशतले घटाए आकार


अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट संशोधन गरेका छन् । बजेट संशोधन गर्दै मन्त्री महतले यस अघिको बजेटको आकार घटाएका छन् । सोमबार अर्थमन्त्रालयमा बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री महतले चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँमा खुम्च्याएका हुन् ।

गत वर्ष जेठ १५ गते चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा मन्त्री महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । उक्त बजेटलाई अर्धवार्षिक समीक्षामार्फत मन्त्री महतले १२.६२ प्रतिशत (२ खर्ब २१ अर्ब ५ करोड रुपैयाँ) ले घटाएका हुन् । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएको बताउँदै मन्त्री महतले बजेटको आकार घटाउनु परेको बताए ।

चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँमा ८८.८४ प्रतिशत खर्च हुने सरकारको संशोधित अनुमान छ । यस्तै पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोडमा ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोडमा ८७.३९ प्रतिशतम मात्र खर्ब हुने संशोधित अनुमान छ ।

विभिन्न शीर्षक तथा क्षेत्रमा करछुट दिँदा लक्ष्य अनुसार राजश्व उठ्न नसकेको बताएका मन्त्री महतले त्यसको असर बजेटमा परेको बताए । कर सुधार समितिको सुझाव अनुसार काम गर्ने बताएका उनले आम्दानी र खर्चका सूचकमा सुधार नभएकाले नै बजेट घटाइएको बताए । आगामी दिनमा अर्थतन्त्र चलायमान भई अर्थतन्त्र बढ्ने दाबी गरेका मन्त्री महतले सबै सूचकहरु सबल अवस्थामा रहेको बताएका थिए ।

स्रोत व्यवस्थातर्फ राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख मात्रै उठ्ने संशोधित अनुमान अथएमन्त्रीले प्रस्तुत गरे । बजेटमा राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएको थियो ।  यस्तै अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त हुने अनुमान गरिएकोमा४० अर्ब १२ करोड ९ लाख प्राप्त हुने संशोधन गरिएको छ । बाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोडको अनुमान संशोधन गर्दै १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख प्राप्त हुने सरकारको अनुमान छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।