सरकारको कूल सार्वजनिक ऋण २४ खर्ब नजिक, प्रतिव्यक्ति ऋण ८१ हजार

0
Shares

चालु आर्थिक वर्षको सात महिना अर्थात माघ मसान्तसम्ममा सरकारको कूल सार्वजनिक ऋण करिब २४ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा सरकारको कुल सार्वजनिक २ खर्ब २ अर्ब ४३ करोडले बढेको छ ।

अर्थ मन्त्रालय अन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
माघ मसान्तसम्म सरकारले ११ खर्ब ८४ अर्ब ५२ करोड आन्तरिक ऋण तथा १२ खर्ब २ अर्ब २४ करोड बाह्य ऋण लिएको छ । गत असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २१ खर्ब ८४ अर्ब ३३ करोड रुपैयाँ थियो ।

माघ मसान्तसम्मको सार्वजनिक ऋण प्रतिव्यक्ति दायित्वका हिसावले ८१ हजार ८ सय रुपैयाँ पुगेको छ । २०७८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।

सरकारले सात महिनामा १ खर्ब ५५ अर्ब रुपैयाँ साँवा/ब्याज भुक्तानीमा खर्च गरेको छ । सरकारले पछिल्लो ७ महिनामा आन्तरिक ऋणको साँवा ब्याजतर्फ १ खर्ब ३० अर्ब ११ करोड भुक्तानी दिएको छ। यस अवधिमा आन्तरिक ऋणको साँवातर्फ कुल ९० अर्ब ९७ करोड र ब्याजतर्फ ३९ अर्ब १४ करोड रूपैयाँ भुक्तानी गरेको छ।

यस्तै सरकारले २५ अर्ब १३ करोड रूपैयाँ बराबरको वैदेशिक ऋणको साँवा ब्याज भुक्तानी गरेको छ। यस अवधिमा वैदेशिक ऋणको साँवातर्फ २० अर्ब १२ करोड र ब्याज दायित्वतर्फ ५ अर्ब १९ लाख रूपैयाँ भुक्तानी गरेको छ ।

सात महिनामा सरकारले १ खर्ब ५० अर्ब ३१ करोड आन्तरिक ऋण उठाएको छ । यसबीच ५२ अर्ब १२ करोड वाह्य ऋण उठाएको कार्यालयको तथ्यांक छ । सात महिनामा सरकारको कूल सार्वजनिक ऋण २ खर्ब २ अर्ब ४३ करोडले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।