शोधनान्तर २३ अर्ब बचतमा, चालु खाता घाटा ७० अर्बमा झर्यो

0
Shares

चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको मंसिरमा शोधनान्तर स्थिती ८५ अर्ब ३२ करोड घाटामा थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति गत आवको पाँच महिनासम्ममा ७५ करोड १ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको छ।

चालु खाता घाटा घट्दै गएपछि शोधनान्तर बचत बढ्दै गएको हो । चालु आवको मंसिर सम्ममा चालु खाता घाटा ७० अर्ब ३२ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ११९ अर्ब ३३ करोड रहेको थियो । अमेरिकी डलरमा गत आवको पाँच महिनासम्ममा एक अर्ब ४ करोड रहेको चालु खाता घाटा चालु आवको मंसिरमा ६१ करोड ७७ लाखमा झरेको छ ।

चालु आर्थिक वर्षको चार महिनामा पूँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर र प्रत्यक्ष वैदेशिक लगानीमा गिरावट आएको छ ।