बोटलर्स नेपालका दुबै कम्पनी घाटामा, ६ महीनामा नेपालीले खाए सवा ८ अर्बको कोकाकोला

0
Shares

बहुर्राष्ट्रिय कम्पनी कोकाकोलाको नेपाली उत्पादकहरु बोटलर्स नेपालका दुबै कम्पनी घाटामा पुगेको छन् । नेपालमा कोकाकोला उत्पादन गर्दै आएका बोटलर्स नेपाल (बालाजु) लिमिटेड र बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ऋणात्मक रहेको वित्तीय प्रतिवेदन शुक्रबार सार्वजनिक गरेका हुन् ।

चालु आवको ६ महीना अवधिमा नेपालीहरुले ८ अर्ब २७ करोड १४ लाख ७५ हजार रुपैयाँ बराबरको कोकाकोलाको उत्पादनहरु उपभोग गरेका छन् । जुन गत पुसको तुलनामा ८.७७ प्रतिशत कम हो । गत आवको पुससम्म बोटलर्स नेपालका दुई कम्पनीको बिक्री आम्दानी ९ अर्ब ६ करोड ६२ लाख ५८ हजार रुपैयाँ थियो । चिसो पेय पदार्थ उत्पादक कम्पनी भएकाले यो त्रैमास कम्पनीको लागि अफ–सिजनको रुपमा मानिन्छ । आगामी दुई त्रैमासमा गर्मी बढ्ने हुँदा कम्पनीको ब्यापार उकासिने गर्दछ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार पुस मसान्तसम्ममा बोटलर्स नेपाल लिमिटेड १५ करोड १५ लाख ७८ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । यस्तै बोटलर्स नेपाल (तराई) लिमिटेड पनि ७ करोड ४१ लाख ५५ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ । ब्यापार घटेसँगै दुबै कम्पनीले घाटा ब्यहोरेका हुन् । यस्तै दुबै कम्पनीको प्रशासनिक खर्च र वित्तीय खर्च बढेको छ भने वित्तीय आम्दानी घटेको छ ।

पछिल्लो तीन महीनामा मात्रै (असोजदेखि पुससम्म) बोटलर्स नेपाल लिमिटेड २० करोड ७२ लाख र बोटलर्स नेपाल (तराई) २५ करोड ६८ लाख ८३ हजार नोक्सानीमा छन् । गत आवको यसै अवधिमा बोटलर्स नेपाल (बालाजु) ११ करोड ५७ लाख २१ हजार रुपैयाँ र बोटलर्स नेपाल (तराई) १९ करोड ४६ लाख २३ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।  गत आर्थिक वर्षको पहिलो ६ महीना अवधिमा बोटलर्स नेपाल (बालाजु) ले २९ करोड २१ लाख ८९ हजार रुपैयाँ र बोटलर्स नेपाल (तराई) ले १५ करोड ३२ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नोक्सानीमा रहेसँगै पुससम्म दुबै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि ऋणात्मक बनेको छ । पुससम्ममा बोटलर्स नेपाल (बालाजु) को प्रतिसेयर आम्दानी १४९ रुपैयाँ र बोटलर्स नेपाल (तराई) को इपीएस १२३ रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बोटलर्स नेपाल (बालाजु) को प्रतिसेयर नेटवर्थ ३ हजार १२० रुपैयाँ र बोटलर्स नेपाल (तराई) को ३ हजार १७३ रुपैयाँ रहेको छ ।

पहिलो ६ महीना अवधिमा बोटलर्स नेपालको बिक्री आम्दानी घटेर ४ अर्ब ५८ करोड ३१ लाख २५ हजार रुपैयाँमा संकुचित बनेको छ । गत आवको पुसमा कम्पनीले ५ अर्ब १९ करोड ७३ लाख ४० हजार बिक्री आम्दानी रहेको थियो । यस्तै कम्पनीको वित्तीय खर्च ७ करोड ४२ लाख ७४ हजारबाट बढेर १५ करोड ४९ लाख ५२ हजार पुगेको छ । कम्पनीको प्रशासनिक खर्च ३७ करोड ९ लाखबाट बढेर ३८ करोड ६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय आय १ करोड २६ लाखबाट १४ लाखमा खुम्चिँदा अन्य सञ्चालन आय पनि ५ लाख ४७ हजार घटेर १ करोड ५६ लाखमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री लागत, वितरण खर्च भने तुलनात्मक रुपमा घटेको छ । बोटलर्स नेपाल (बालाजु) को चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको छ । यस्तै जगेडा कोषमा ५ अर्ब ५२ करोड ८४ लाख १६ हजार रुपैयाँ सञ्चित छ । गत आवको पुसको तुलनामा जगेडा कोषको आकार ३० करोड ७५ लाख ८४ हजार रुपैयाँले बढेको हो । 

बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ८६ करोड ८९ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो ।

यस्तै गत आवको यसै अवधिमा ११ करोड ३७ लाख ५५ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीको अहिले बढेर १४ करोड ५ लाख १६ हजार रुपैयाँ पुगको छ । कम्पनीको प्रशासनिक खर्च १३ करोड ९७ लाखबाट बढेर १६ करोड ६३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय आय ४५ लाखबाट ५२ हजारमा खुम्चिँदा अन्य सञ्चालन आय पनि १ करोड ३६ लाख ६६ हजार रुपैयाँले घटेर ९९ लाख ६१ हजार रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री लागत, वितरण खर्च भने तुलनात्मक रुपमा घटेको छ । बोटलर्स नेपाल (तराई) को चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै यसको जगेडा कोषमा ३ अर्ब ७१ करोड ८३ लाख ९८ हजार रुपैयाँ सञ्चित छ । गत आवको पुसको तुलनामा जगेडा कोषको आकार ३३ करोड ८३ लाख ९८ हजार रुपैयाँले बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।