बैंक वित्तीय संस्था माथिको आक्रमण बिरुद्ध छाता संस्थाहरु एक ठाउँमा, ‘त्रसित पार्ने काम बन्द होस्’


बैंक तथा वित्तीय संस्थाहरुका छाता संस्थाले बैंकिङ क्षेत्रमा खलल पुर्याउने काम भइरहेको सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गरेका छन् । आइतबार नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्ला दिनको विकासक्रमप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाख भन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु संचालनमा रहेको भन्दै छाता संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको बताएका हुन् ।

देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ्ग सेवाहरु आफ्ना ६ हजार ४४१ शाखाहरु मार्फत देशभर प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

देशको दुर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरुले २८ लाख भन्दा धेरै साना ऋणीहरुलाई ४ खर्ब भन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रुपान्तरणमा अहम भूमिका खेलेको भन्दै संघले सबै संस्थाहरुले ८२ हजारभन्दा धेरै कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेको अवस्थामा चौतर्फी आक्रमण भएको जनाएको हो ।

चालु आर्थिक वर्षमा सरकारलाई बैंक वित्तीय संस्थाले ३१ अर्ब भन्दा धेरै राजश्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरुले ७७ करोडभन्दा धेरै विविध सामाजिक कार्यहरुमा खर्च गरेको स्मरण पनि गराइएको छ ।

“पछिल्लो समयमा यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको विज्ञप्तिमा उल्लेख छ । नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति तथा नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको भन्दै विज्ञप्तिमा नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको उल्लेख छ ।

“यस संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

सामाजिक संजालहरुमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरुमा ध्यान नदिन आग्रह गर्दै विज्ञप्तिमा सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन आग्रह गरिएको छ । साथै, आम सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई संयुक्त विज्ञप्तिबाट आग्रह गरिएको छ ।

आइतबारै बैंक वित्तीय संस्था परिसंघले पनि विज्ञप्ति जारी गर्दै बैंक वित्तीय संस्थाप्रतिको प्रहारका सम्बन्धमा ध्यानाकर्षण भएको बताएको थियो ।

‘बैंक तथा वित्तीय संस्थाका सूचक स्वस्थ छन, अफवाहको पछि नलागौँ’ : सिबिफिन

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।