बैंक वित्त तथा बीमा क्षेत्रको बजार हिस्सा घट्यो

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कुल कजार पूँजीकरणमा बैंक/वित्तीय तथा बीमा कम्पनीको हिस्सा घटेको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा नेप्सेको कुल बजार पूँजीकरणमा बैंक/वित्ती तथा बिमा कम्पनीको ७९.१ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको मंसिरसम्ममा धितोपत्र बजारको कुल कजार पूँजीकरणमा बैंक/वित्तीय तथा बीमाकम्पनीहरुको हिस्सा ८०.५ प्रतिशत थियो । बैंक वित्तीय संस्था मर्जरमा गएर संख्या घटेको कारणले यो क्षेत्रको कुल बजार पूँजीकरण हिस्सा घटेको हो ।

नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ मंसिर मसान्तमा २१२ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । गत आर्थिक वर्षको मंसिर देखि चालु आवको सोही अवधीसम्ममा ११ वटा जलविद्युत कम्पनी मात्र थपिएका छन । जलविद्युत क्षेत्रका कम्पनी थपिएका कारणले गर्दा पनि बैंक/वित्त र बिमा क्षेत्रको हिस्सा थोरै भएको हो ।

गत आर्थिक वर्षको मंसिरमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या १९८ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये १४७ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, २१ वटा जलविद्युत कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका थिए ।

त्यसैगरी मंसिरसम्ममा नेप्सेको कुल बजारपूँजीकरणमा जलविद्युत कम्पनीको हिस्सा ६.४ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.२ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको मंसिरसम्ममा नेप्सेको कुल बजार पूँजीकरणमा जलविद्युत क्षेत्रको ४.१ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.९ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको १०.८ प्रतिशत रहेको छ ।
नेप्सेमा २०७६ मंसिर मसान्तसम्ममा सूचीकृत ४ अर्ब ४९ करोड शेयर संख्याको चुक्ता मूल्य रु.४३९ अर्ब ३१ करोड रहेको छ ।