ग्लोबल आइएमई बैंकको शेयर कारोबार साढे ६ महिनापछि खुल्दै

0
Shares

ग्लोबल आइएमई बैंकको माघ ६ गते सोमबारदेखि शेयर कारोबार खुल्ने भएको छ । जनता बैंकलाई गाभेको बैंकको शेयर कारोबार साढे ६ महिनापछि खुल्न लागेको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सले ग्लोबल आईएमई बैंकलाई मर्जरपछिको पहिलो कारोबारका लागि ओपनङि रेन्ज प्रतिकित्ता २५२ रुपैयाँ ४७ पैसा तोकेको छ । मर्जरमा जानु अघि नेप्सेमा ग्लोबल आइएमई बैंकको प्रतिकित्ता २९५ र जनताको बैंकको प्रतिकित्ता २१४ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो ।

गत साता मात्र बैंकले जनतातर्फको ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियो । ग्लोबलको एक सय बराबर जनताको ८५ कित्ताको दरमा शेयर स्वाप काय गरिएको थियो ।

मर्जर पछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार ९ सय रुपैंया पुगेको छ । योसँगै नेपाल स्टक एक्सचेञ्जमा वाणिज्य बैंकबाट सबैभन्दा धेरै संख्यामा शेयर सूचीकरण गराउने बैंक ग्लोबल आइएमई भएको छ ।

दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सोही दिनदेखि दुई बैंकको शेयर कारोबार रोक्का भएको थियो ।