तीव्र उतार-चढावकाबीच घटेर बन्द भयो सेयर बजार, ३ अर्बको कारोबार

0
Shares

लगानीकर्ताको मनोबल बलियो बन्न नसक्दा साताको मंगलबार पनि सेयर बजारमा गिरावट जारी छ । आज नेप्से १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा झरेको हो । सेयर बजारका लगानीकर्तााको मनोबल कमजोर बन्दा पछिल्ला तीन कारोबार दिनयता बजार ओरालो गतिमा छ । आइतबार २७.२१ अंकले घटेको बजार बिहीबार १४.४६ अंकले ओरालो लागेको थियो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.८८ अंक, फ्लोट इण्डेक्स ०.३१६ अंक, सेन्सेटिभ इण्डेक्स ०.३० अंक घटेको छ । कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये ५ ओटा बढ्दा ८ ओटा घटेको छ । यस दिन अन्यको सूचक १.१० प्रतिशतले घटेको छ भने लघुवित्तको इन्डेक्स ०.७४ प्रतिशतले घटेको छ ।

मंगलबार ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ७६ हजार ८०३ ओटा संख्याबाट ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा खरिद बिक्री भएको छ । आइतबार ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँमा खरिद बिक्री भएको थियो । बजार ओरालो लागेसँगै आज दैनिक कारोबार रकम ६६ करोड १९ लाख रुपैयाँले घटेको हो । मंगलबार कारोबारमा आएका ३१४ कम्पनी मध्ये १२२ ओटाको सेयर मूल्य बढेको छ भने १७२ ओटाको मूल्य घटेको छ । १७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

आज हिमालयन रि इन्स्योरेन्स आज कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । सर्वाधिक कारोबार भएको यस कम्पनीको ३१ करोड ७३ लाख ७० हजार रुपैयाँको ४ लाख ९३ हजार ९३ कित्ता सेयर खरिद बिक्री भएको छ । यस्तै साना किसान विकास लघुवित्तको संस्थापक सेयर १२ करोड ४० लाख, जोशी हाइड्रोपावर ८ करोड २० लाख, ङादी ग्रुप पावरको ६ करोड ४ लाख, दोर्दीखोला जलविद्युतको ५ करोड ५९ लाख बढीको कारोबार भएको छ ।

मंगलबारको बजारमा पनि बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता ११ हजार २६७ रुपैयाँ १० पैसा र समाज लघुवित्तको १७९८ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ को ८.२७ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ७.९२ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ४.७९ प्रतिशत, दोर्दीखोला जलविद्युत ४.६५ प्रतिशत, इङ्वा हाइड्रोपावरको ४.५२ प्रतिशत, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड ४.१५ प्रतिशत र ८.५% बिओके डिबेञ्चर २०८६ को ३.९८ प्रतिशत र चिरख्वा हाइड्रोपावरको ३.५८ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै ग्रीन लाइफ हाइड्रोपावरको सेयर लगानीकर्ताले गुमाएका छन् । ग्रीन लाइफको सेयर मूल्य १० प्रतिशतले घटेर २१८ रुपैयाँ ७० पैसा पुगेको छ । कसिान लघुवित्तको ७.७९ प्रतिशत, खानीखोला हाइड्रोपावरको सेयर मूल्य ४.८३ प्रतिशत, आशा लघुवित्तको सेयर मूल्य ४.५७ प्रतिशत र सालिङ्ग पावर कम्पनीका लगानीकर्ताले ४.२५ प्रतिशतका दरले गुमाएका हुन् ।

मंगलबारको बजार घटाईपछि कुल बजार पुँजीकरण घटेर ३१ खर्ब ९५ अर्ब ७९ करोड ६७ लाख ८१ हजार रुपैयाँमा समेटिएको छ । आइतबार बजार पुँजीकरण ३१ खर्ब ९८ अर्ब ५६ करोड ९८ लाख रुपैयाँ थियो । मंगलबार मात्रै २ अर्ब ७७ करोड ३१ लाख रुपैयाँले बजार पुँजीकरण घटेको हो । सोमबार भने प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।