एनसीसी बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (माघ ६ गते) अन्तिम दिन हो।
बैंकले माघ १७ गते बोलाएको २२ औँ वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ ७ गते बुकक्लोज गर्ने जनाएको छ।

यस अनुसार सोमबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन पाउनेछन् । बैंकको साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ।

उक्त सभाले सञ्चालक समतिले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि साधारण सभामा लग्दैछ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड रुपैयाँ छ । १५ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड पुग्नेछ।