विद्युत महशुल भुक्तानी नगरेकाले मारुती सिमेन्ट्सको आईपीओलाई कमजोर रेटिङ, व्यापार ७३ करोडले घट्यो

0
Shares

सार्वजनिक निष्काशनको तयारीमा रहेको मारुती सिमेन्ट्स लिमिटेडलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘ट्रिपल बी’ रेटिङ गरेको छ ।

इक्रा नेपालले कम्पनीलाई ‘ट्रिपल बी’ रेटिङ दिँदै ‘वाच वीथ नेगेटिभ इम्प्लीकेसन’ को सूचीमा राखेको छ । यस रेटिङ भएका कम्पनीहरुको आर्थिक दायित्व समयमै निर्वाह गर्ने क्षमता मध्यम डिग्री रहेको मानिन्छ ।

हालै नेपाल विद्युत प्राधिकारणले विद्युत महशुल भुक्तानी नगरेका कम्पनीहरुको सूची जारी गरेको थियो । जसअन्तर्गत मारुती सिमेन्टले ९७ करोड ८० लाख रुपैयाँ महसुल भुक्तानी गर्न बाँकी रहेको छ । यसैलाई कारण देखाउँदै इक्रा नेपालले कम्पनीलाई ‘वाच वीथ नेगेटिभ इम्प्लीकेसन’ को सूचीमा राखेको हो ।

सन् १९९४ मा स्थापना भएको मारुती सिमेन्ट्स लिमिटेडले सिमेन्ट र क्लिकरको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । हाल कम्पनीले मारुती ब्रान्डनामबाट ओपिसी सिमेन्टको उत्पादन गर्दै आएको छ । कम्पनीको फ्याक्ट्री सिराहाको गोलबजारमा अवस्थित छ भने सिमेन्ट उत्पादन क्षमता प्रतिदिन १ हजार ५०० टन रहेको छ भने ग्रान्डिङ क्षमता २ हजार टन रहेको छ ।

राठी तथा गोयल ग्रुपको लगानी रहेको मारुती सिमेन्ट्सले हाल उत्पादन क्षमता वृद्धि गरिरहेको छ । कम्पनीले सिमेन्ट उत्पादन क्षमता ४ हजार टन प्रतिदिन र क्लिंकर उत्पादन क्षमता प्रतिदिन ३ हजार ३०० टन पु¥याउँदै छ ।

कम्पनीले आव २०२३ मा ४ अर्ब २४ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ । यसअघि आव २०२२ मा कम्पनीले ४ अर्ब ९७ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । एक वर्षको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७३ करोड ४० लाखले घटेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा आएको गिरावटसँगै कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफामा समेत गिरावट आएको छ । आव २०२२ मा कुल सञ्चालन आम्दानीको ११ प्रतिशत रहेको सो नाफा आव २०२३ मा ७ प्रतिशतमा खुम्चिएको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।