तामाकोशीको लिलामी सेयरको पैसा फिर्तामा जालझेल, ‘कसैलाई डबल फिर्ता, कसैलाई महिनौंसम्म बेवास्ता’

0
Shares

अपर तामाकोशीको लिलामीमा आवेदन गरेका केही लगानीकर्ताले रकम फिर्ता पाउन सास्ति भोगेका छन् । कम्पनीले सेयर नपाउने केही लगानीकर्तालाई दोई पटक (डबल) समेत रकम समेत फिर्ता गरेको छ भने केही लगानीकर्ताले बाँडफाँडको एक महीनासम्म रकम फिर्ता नपाएका हुन् ।

क्यापिटलले जारी गरेको सूचना अनुसार माघ २२ गतेदेखि नै लिलामी सेयर बाँडफाँडमा नपरेका आवेदकको सेयर बापतको रकम लिलामी फारममा उल्लेख गरिएको सम्बन्धित लगानीकर्ताको खातामा भुक्तान गरिने जनाएको थियो । तर लामो समयसम्म पनि लगानीकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । लिलामीमा आवेदन दिँदा नै निकै भीडभाड र सास्ति खेपेका लगानीकर्ताले रकम फिर्ता पाउन समेत उस्तै सास्ति भोगेका हुन् ।

क्यापिटलको कमजोर कार्यसम्पादनका कारण लिलामीमा सेयरमा आवेदन गरेर सेयर नपाएका लगानीकर्तालाई असर परेको हो ।  मिनि आईपीओको संज्ञा समेत पाएको यस कम्पनीको लिलामाी सेयर खरिदका लागि बोलकबोल मार्फत तीन दिन लगाएर बोलपत्र खुला भएको थियो । क्यापिटलले गत माघ ५ गते शुक्रबार ६ गते, शनिबार र ७ गते तीन दिन लगाएर सिलबन्दी बोलपत्र खोलेको थियो भने माघ १७ गते मात्र लिलामी सेयर बाँडफाँड गरेको थियो । धेरैजसो लगानीकर्ताले सेयर नपरेको रकम फिर्ता पाएपनि केही लगानीकर्तालाई भने अझेसम्म रकम फिर्ता नपाएको बताए । लिलामीमा सेयर खरिदका लागि आवेदन दिएका सरोज घिमिरेले आफूले अझैसम्म पनि लिलामीका लागि आवेदन दिएको सेयरको रकम नपाएको बताए ।

अघिल्लो शुक्रबार नै आइतबार रकम फिर्ता पठाउने बताएको क्यापिटलले हालसम्म पनि रकम नपाठाएको उल्लेख गर्दै उनले भने, “लिलामीमा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको बिक्री प्रबन्धकले लगानीकर्तामाथि अत्याचार गरेको छ । लिलामीमा आवेदन गरेको रकमको ब्याज पनि नदिने र सेयर बाँडफाँडको रकम महीनौंदिनसम्म फिर्ता नपाउँदा सम्बन्धित निकायमको ध्यान जान सकेको छैन ।” अन्य केहीले पनि लिलामीको रकम नपाएको बताएका उनले आफूजस्तै फिर्ता नपाउने लगानीकर्ताको हजारभन्दा बढी रहेको बताए ।

बाँडफाँडको एक महिना पुग्दा समेत रकम फिर्ता नपाउँदा आफूजस्तै धेरै लगानीकर्ताहरुले क्यापिटलका काम गराइबाट प्रताडित हुनुपरेको बताए । एक साताका लागि सापटी लिएर लिलामीमा आवेदन गरेकोमा महिना दिनसम्म पनि खातामा रकम फिर्ता नपाउँदा ब्याजको बोझ मात्र थपिएको उनको गुनासो छ ।

अपर तामाकोशीले जारी गरेको शतप्रतिशत हकप्रदमा अवितरित भएको सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलाम बढाबढमा बिक्री खुलाएको थियो । कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पुँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।