सात महिनामा ८४ करोडको ह्विस्की भित्रियो, गत वर्षको तुलनामा दोब्बर आयात

0
Shares

चालु आर्थिक वर्ष (२०८०/८१) को सात महिनामा ८४ करोड ७४ लाख रुपैयाँको ह्विस्की नेपाल भित्रिएको छ । जुन गत आर्थिक वर्ष सोही अवधिको तुलनामा झण्डै दोब्बर हो । गत आर्थिक वर्ष (२०७९/८०) मा ४४ करोड ५४ लाख रुपैयाँको ह्विस्की नेपाल आयात भएको थियो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिना (साउन–माघ) को अवधिमा ८४ करोड ७४ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख १० हजार ८३१ लिटर ह्विस्की आयात भएको हो ।

गत आर्थिक वर्ष ४४ करोड ५४ लाख ३० हजार रुपैयाँको १ लाख ७१ हजार २४ लिटर ह्विस्की आयात भएको थियो । यस्तै, गत आवको तुलनामा चालु आवमा ह्विस्की बनाउने कच्चा पदार्थको आयातमा पनि वृद्धि भएको छ ।

सात महिनाको अवधिमा ६५ करोड १८ लाख १४ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार ५९१ लिटर ह्विस्की बनाउने कच्चा पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा ह्विस्की बनाउने कच्चा पदार्थ आयात २० करोड रुपैयाँले घटेको छ ।

समिक्षा अवधिमा ४५ करोड ८ लाख ४६ हजार रुपैयाँ बराबरको २ लाख ८ हजार ३९४ लिटर ह्विस्की बनाउने कच्चा पदार्थ आयात भएको थियो । चालु आर्थिक वर्षमा ह्विस्की आयातबाट १ अर्ब २५ करोड ४० लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै चालु आर्थिक वर्षमा २ करोड ४२ लाख ३८ हजार रुपैयाँ बराबरको १ लाख ४८ हजार ८३ लिटर वियर आयात भएको छ । जुन गत वषको तुलनामा १.७८ गुणाले बढि हो । गत आर्थिक वर्षको सात महिनाको अवधिमा ८६ लाख २ हजार रुपैयाँ बराबरको ४२ हजार ६२१ लिटर बियर आयात भएको थियो ।

चालु आर्थिक वर्षमा तीन वटा शिर्षकमा बियर आयात गरिएको छ । ती हुन्ः माल्टमा उत्पादित वियर, गैर अल्कोहल बियर र देश बियर (छ्याङ) ।

माल्टमा उत्पादन गरिएको बियर १ करोड ६७ लाख ८२ हजार रुपैयाँ बराबरको ६४ हजार ५३० लिटर बियर आयात भएको छ भने गैर अल्कोहल बियर ४३ लाख ३ हजार रुपैयाँ बरारबको २३ हजार ५४८ लिटर आयात भएको छ । यता, देश बियर (छ्याङ) भने ३१ लाख ५२ हजार रुपैयाँ बराबरको १६ हजार ८०६ लिटर बियर आयात भएको छ ।

बियर आयातबाट ३ करोड ९९ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, सात महिनामा ३० करोड ८ लाख ९८ हजार रुपैयाँ बराबरको ५ लाख ५९ हजार ९६० लिटर वाईन आयात भएको छ । जुन गत वर्षको अवधिमा ४.७० गुणाले बढी हो । गत आर्थिक वर्ष ६ करोड ४१ लाख ५८ हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार २९२ लिटर बियर आयात भएको थियो ।
चालु आर्थिक वर्षमा वियर आयातबाट ५१ करोड १८ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै सात महिनामा ५० लाख २५ हजार रुपैयाँ बराबरको ४ हजार १५० लिटर रम आयात भएको छ । जसबाट १ करोड ५९ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै चालु आर्थिक वर्षको सात महिनमा ५ करोड २ लाख ८२ हजार रुपैयाँ बराबरको ३८ हजार २२ लिटर भोड्का आयात भएको छ । जुन गत वर्षको तुलनामा ४.१६ गुणाले बढी हो । गत आर्थिक वर्षमा १ करोड २० लाख ७५ हजार रुपैयाँ बराबरको १० हजार ५९९ लिटर भोड्का आयात भएको थियो ।
भोड्का आयातबाट सरकारले १४ करोड ६१ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।