औद्योगिक क्षेत्रको हीतका लागि संस्थागत ऐक्यवद्धताका लागि अनुरोध


उद्योग संगठन मोरङले कोशी प्रदेशका उद्योगी व्यवसायी तथा छाता संस्थाहरुलाई औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धताका लागि अनुरोध गरेको छ ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाटका क्रममा संगठनले यस्तो आग्रह गरेको हो ।

भेटघाटमा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि वढ्न सके सकरात्मक सन्देश प्रवाह हुने बताउँदै यो क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखे । उनले वर्तमान समयमा उद्योग व्यापारको क्षेत्र सबैभन्दा बढी प्रताडित भएको बताउँदै समस्या समाधानका लागि संस्थागत ऐक्यबद्धताका लागि आग्रह गरे । सरकार र नीजि क्षेत्र बीचको सहकार्यले मात्र औद्योगिक विकासले गति लिने भएकाले दुवै निकाय बीच सकारात्मक सम्वन्ध विकास गर्न नीजि क्षेत्रका संस्थाहरुको भूमिका महत्वपूर्ण हुने संगठन अध्यक्ष सुरानाको भनाई थियो ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले मौजूदा समयमा उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि औद्योगिक क्षेत्रसँग सम्वन्धित व्यवसायीक संस्थाहरु एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । उनले आर्थिक समृद्धिका लागि नीजि क्षेत्रको विकास अपरिहार्य रहेको बताएका उनले आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरु समाधानका लागि नीजि क्षेत्रका छाता संस्थाले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामुहिक रुपमा अघि बढाउँदै राज्यको ध्यानाकर्षण गर्नुपर्नेमा जोड दिए ।

विराट ब्यापार संघका अध्यक्ष अंशु बन्जाराले ब्यापार व्यवसाय दयनीय अवस्थामा भएकाले यसको निकासको बाटो पहिल्याउने विषयमा विराट व्यापार संघ संस्थागत रुपमा सदैव तत्पर रहेको बताए । उनले समस्यै समस्याको भुमरीमा जेलिएको व्यवसायीक क्षेत्र बीचको आपसी सम्वन्ध थप प्रगाढ वनाउनु पर्नेमा जोड दिए ।

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले नीजि क्षेत्रको सबलीकरणका लागि सामुहिक रुपमा पहलगरी व्यवसायिक विकासको पक्षमा सकारात्मक वातावरण वनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र विराट व्यापार संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुका साथै महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।