तीन दिनमा ६.२२ प्रतिशत वृद्धिपछि नेप्सेमा १.९८% को करेक्शन

0
Shares

शेयर बजार परिसूचक नेप्सेमा लगातार तीन दिनमा ६.२२ प्रतिशत वृद्धि पश्चात चौंथो कारोबार दिन माघ ६ गते सोमबार आएर १.९८ प्रतिशतको गिरावट आएको छ।

बुधबार १.६५, बिहीबार २.०२ र आइतबार २.५५ प्रतिशत गरि कूल ६.२२ प्रतिशतले (८०.२७ अंक) बढेको थियो। सोमबार नेप्से १.९८ प्रतिशत अर्थात २६.५४ अंकको गिरावट सहित १ हजार ३१७ दशमलव ११ अंकमा झरेको छ। आइतबार नेप्से १ हजार ३४३ दशमलव ६५ बिन्दुसम्म बढेको थियो।

सोमबार १८२ कम्पनीका ५८ लाख ४६ हजार २३८ कित्ता शेयर २० हजार ४४६ संख्यामा कारोबार हुँदा कारोबार रकम एक अर्ब ९७ करोड ३ लाख ८७ हजार रुपैयाँ पुगेको छ।

नेप्से उच्च अंकले बढेको समयमा करेक्शन आउन थाल्दा अल्पकालीन कारोबारी हाबी हुँदा पनि कारोबार रकम बढेको हो। छोटा समयमा नै नेप्सेको वृद्धिसँगै कम्पनीको शेयरमा भएको नाफा सुरक्षित गर्ने क्रम चल्दा सूचकमा करेक्शन देखिएको छ । जानकारहरु यो गिरावटलाई करेक्सन मान्छन्। किनभने जनवरी यता नै नेप्सेमा अंकको वृद्धि भैसकेको छ।

कुनै बेला शेयर बजारका बादशाहका रुपमा चिनिने निर्मल प्रधान अहिले बजारलाई नै बुलिस प्रवृत्ति नै मान्छन् । नेप्से लगातार बढ्नेभन्दा बढ्दै करेक्शन हुँदै बढ्नुलाई राम्रो मानिने उनी बताउँछन्। अहिलेको बजारमा अधिकतम १०० देखि ५० अंकभन्दा धेरै करेक्शन आउन नसक्ने उनको बुझाई छ।

सोमबार कारोबारमा आएका सबै १२ वटा उप समूहका सूचक घटेका छन्। ब्यापार उप-समूहका सूचकमा सबैभन्दा ६.३४ प्रतिशतले घटेको छ। जलविद्युत ३.९१, वित्त ३.१९, होटलमा ३.०३ प्रतिशत, विकास बैंक २.८६ प्रतिशत, उत्पादन २.८०, लघुवित्त २.७५, जीबन बीमा २.१८, निर्जीबन बीमा २.०९ प्रतिशतले घटेको छ।

सोमबारको कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरीको सबैभन्दा बढी २० करोड ९२ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ । यसैगरि एनसीसी बैंकको १३ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसैगरि नेपाल लाईफको ९ करोड ३० लाख, प्रभु बैंकको ६ करोड ७१ लाख, एनआईसी एशिया बैंकको ५ करोड ९८ लाख, शिवम् सिमेन्टसको ५ करोड ८० लाख, सूर्या लाईफ ५ करोड ४४ लाख, प्राइम लाईफको ४ करोड ७६ लाख, एनएमबि बैंकको ३ करोड ८० लाख, र प्रभु इन्स्योरेन्सको ३ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदै शिर्ष दश कम्पनीमा समेटिएका छन्।

यसदिन मल्टिपपर्स फाइनान्सको र ग्लोबल आईएमई बैंकको शेयरमूल्यमा सर्किट लागेको छ। सूर्या लाईफ, प्रुडेन्सियल इन्स्योरेन्स, सिनर्जी पावर र मञ्जुश्री फाइनान्सको शेयरमूल्य समान्य बढेको छ।

उता पाँचथर पावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स, हिमालयन पावर पार्टनर, र विशाल बजार कम्पनीको पनि ९ प्रतिशत धेरैले मूल्य घटेको छ।  पञ्चकन्या माई, हिमालयन उर्जा, युनाईटेड मोदी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशत बढीले अवमूल्यन भएको छ।