“हाम्रो लगानी र सक्रियातले शेयर बजारलाई ड्राइभ गर्नसक्ने अवस्था छैन” :प्रधान

0
Shares

आजभन्दा डेढ दशक अघिसम्म नेपाली शेयर बजारमा ‘वारेन बफेट’ का रूपमा चिनिएका निर्मल प्रधान पछिल्लो समयमा निष्क्रिय जस्तो देखिएका छन्। तर, आफ्नो क्षमता अनुसारको लगानी गरिनै रहेको बताउने प्रधान अहिले पनि आफु शेयर बजारमा सक्रिय रहेको दाबी गर्छन्।

कुनै समयमा शेयर बजारलाई कता लैजाने भन्ने उनी एक्लैले गर्छन् भन्नेहरु आज निर्मल प्रधानलाई निष्क्रिय देख्छन। तर, शेयर बजारको आकारमा भएको विस्तारले निर्मल प्रधान जस्ता ठूला लगानीकर्ता छायाँमा परेको प्रधान स्वयंले स्वीकार गरेका छन्। २०६८ सालको ‘मार्केट क्र्यास’ मा सम्भवतः सबैभन्दा बढी गुमाउने लगानीकर्ता उनै हुन्। शेयर बजारमा कमाउने र गुमाउने चक्र भैराख्ने बताउने प्रधानले अहिले पनि आफु सशक्त रुपमा नै बजारमा सक्रिय रहेको बताउँछन्। उनै प्रधानसँग नोटबजारका समाचार सम्पादक सुरेन्द्र थापाले गरेको छोटो कुराकानी:-

  • दशकौं देखि शेयर बजारसँग जोडिनु भएको छ, शेयर बजारका धेरै ‘बुल’ र ‘वियर’ लाई पनि हेर्नुभयो, पछिल्लो समयमा धितोपत्र बजारमा देखिएको उतार चढावलाई कसरी विश्लेषण गर्नुभएको छ ?

विगत केही दिन देखि लगातार उच्च अंकले बढेको शेयर बजारमा सोमबार करेक्सन आएको छ। निरन्तर उच्च अंकको सुधारपछि सोमबार बजारमा देखिएको करेक्सनले धितोपत्र बजार बुलिस ट्रेण्ड तर्फ अग्रसर रहेको छ। नेपालको शेयर बजारको सन्दर्भमा बुलिस र वियर ट्रेण्डको ६ वर्षको चक्र चल्ने गरेको छ।

अहिलेको धितोपत्र बजार परिसूचक करिब ४१ महिनाको वियर ट्रेन्डलाई पार गरेर अघि बढ्ने अवस्थामा पुगेका छ। शेयर बजार परिसूचक पछिल्ला दिनहरुको न्यून बिन्दु १ हजार १०२ देखि माथि चढेर १३ सयभन्दा नाघेको अवस्था छ। यसले बजार बुलिस ट्रेन्डमा नै गएको प्रमाणित गर्छ। अब बजार घट्ने सम्भावना नै छैन । आगामी दिनमा पनि बजारमा केही करेक्सन आउने अनि फेरि बढ्ने हुन्छ । बढ्दो बजारमा बजार करेक्सन हुँदा पनि न्यून बिन्द् क्रमिक रुपमा एकपछि अर्को गर्दै माथि हुने गर्छ। बजारमा केहि करेक्सन आउनसक्छ तर करेक्सनपछि पनि थप उचाइमा पुग्छ।

बजार एकोहोरो रुपमा बढेको बढेको बढ्यै त हुँदैन । बीचमा हुने करेक्सनले नै बजारलाई अघि बढाउँछ । करेक्सन आयो भन्दैमा बुलिस ट्रेण्ड होईन भन्न मिल्दैन। यो मेरो अनुभवको कुरा हो। बुलिस ट्रेण्डमा पनि बजार घट्ने बढ्ने गरेर अघि बढ्छ । अहिलेको बजारको ट्रेण्डलाई हेर्दा लगानी गर्ने उपयुक्त समय आएको देखिन्छ ।

  • कुनै समयमा नेपाली शेयर बजारको ‘वारेन बफेट’ भनेर चिनिने तपाई पछिल्लो समयमा निष्क्रिय भएको अवस्था हो ?

अहिले पनि उत्तिकै सक्रिय छु । पहिला शेयर बजारको आकार सानो थियो, त्यसले गर्दा हाम्रो पोर्टफोलियो अलि ठूलो देखिन्थ्यो । शेयर बजारमा हामी जस्ता ठूला लगानीकर्ताहरु चिनेजानेका १०–१५ जना मात्र हुने गर्थे। बजारको आकार बढेकाले हाम्रो लगानी छायाँमा परेको मात्र हो हामी आफ्नो तहमा उत्तिकै सक्रिय छौं।

अहिले पनि हामी करोडौंको लगानी गरिरहेका छौं, लगानी गर्ने तरखरमा छौं, हाम्रो लगानी भोलुमका हिसाबले कम छैन। बजारको भोलुम बढ्दा हाम्रो भोलम कम देखिएको मात्र हो। शेयर बजारलाई हामीले चाहे अनुसार चलाउन पनि सक्थ्यौं। बजारको आकारले गर्दा पनि हाम्रो पूँजीले बजार प्रभावित हुन्थ्यो। हामी पहिला देखि नै यहि क्षेत्रमा अग्रसर र सक्रिय रहेको हुँदा आफुले गर्नसक्ने बेलासम्म बजारमा निरन्तर सक्रियता रहि नै रहन्छ।

  • सक्रिय छु त भन्नुभयो, तर विगतमा त शेयर बजार निर्मल प्रधानको हातमा छ भन्ने गर्थे, अहिले तपाइको हातबाट बजार बाहिर गएको हो ?

शेयर बजार पहिला पनि हाम्रो हातमा थिएन र अहिले पनि छैन। मिडिया तथा केही लगानीकर्ताहरुले बजार ठूला लगानीकर्ता कै हातमा छ भन्ने किसिमका प्रोपोगान्डा मात्र चलाएका हुन्। तर, अहिले शेयर बजारको भोलुम नै निकै ठूलो भईसक्यो। शेयर संख्या पनि बढ्यो। हाम्रा पालामा १५ देखि बढीमा ३० प्रतिशत मात्र पब्लिक शेयर हुन्थ्यो। अहिले ४९ प्रतिशतसम्म पब्लिक शेयर हुने गरेको छ । हाम्रा पालामा ५० करोडका बैंक थिए। अहिले हकप्रद तथा बोनस वितरण गरेर बैंकहरुको न्यूनतम चुक्ता पुँजी पनि आठ अर्ब पुगिसकेको अवस्था छ। केही बैंकहरु त्यो भन्दा पनि धेरै ठूला बनिसकेका छन्। त्यो भएको हुनाले अहिलेको हाम्रो लगानी र सक्रियातले बजारलाई ड्राइभ गर्न सक्दैन।

पहिलेको शेयर बजार खहरे खोला थियो, अहिले समुन्द्र भईसक्यो। खोलालाई छेक्न पनि सकिन्थ्यो तर अब समुन्द्रदाई छेक्न सकिँदैन। यो त महासागर भईसक्यो। शेयर बजारलाई आफ्नो हातमा पार्न त कसैले सक्दै सक्दैन। जसको हातमा गएपनि हाम्रै दाजुभाई दिदिबहिनी तथा लगानीकर्ताकै हातमा गएको छ। अहिले सबै लगानीकर्ता निर्मल प्रधान जस्तै हुनु भएको छ । सबैलाई मेरो शुभकामना पनि छ।

  • अहिलेको बजारमा लगानी गर्दा कस्ता धितोपत्रलाई छनोट गर्न उपयुक्त हुने सुझाव दिनुहुन्छ ?

मैले एक महिना अघि पनि सबै लगानीकर्ताहरुलाई घर जग्गा बेचेर शेयरमा लगानी गर्ने बेला आयो भन्दै आएको थिएँ। अहिले पनि त्यही भन्छु। आर्थिक स्रोत जुटाउन सक्ने जति रकम शेयर बजारमा लगाउने हो भने अबको दुई वर्षमा राम्रो प्रतिफल लिन सकिन्छ । अबको दुई वर्षसम्म बजारले बुलिस ट्रेन्ड लिने निश्चित छ ।

अहिलेको अवस्थामा मझौला खालका वाणिज्य बैंकहरुमा लगानी गर्दा राम्रो प्रतिफल लिन सकिने अवस्था छ । विशेष गरेर साईला वाणिज्य बैंकहरुमा लगानी गर्ने हो भने राम्रो नाफा लिनसक्ने देखिन्छ। ठूला बैंकहरुको मूल्य बढ्ने सम्भावना कम रहन्छ । मझौला बैंकहरुमा गरिएको लगानीबाट लाभ लिन सकिन्छ । बैंकहरुबाट मात्र होईन अन्य क्षेत्रका कम्पनीको शेयरमा पनि छनौट गरेर लगानी गरेमा अहिलेको बजारबाट घाटा खानुपर्ने अवस्था म देख्दिँन।