बैंकर पक्राउप्रति बैंकर्स संघ विरोधमा उत्रिने, सीआईबी र गृहमन्त्रालयसँग छलफल गर्दै

0
Shares

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघले कमसल धितोमा ऋण प्रवाह आरोपमा पक्राउ परेका प्रभु बैंकका डी–सीईओ मनोज न्यौपानेसहित दर्जन तत्काल रिहा नगरिए बैंकिङ कारोबार ठप्प पार्ने चेतावनी दिएको छ ।

संघको बुधवार आकस्मिक बैठक बसेर बैंकर्समाथिको धरपकड विरुद्ध उत्रिने निर्णय गरेको हो । साथै, बैठकले आजै केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी, सीआईबी प्रमुख किरण बज्राचार्यसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत भेटेर ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको छ ।

संघका एक सदस्यले पहिलो चरणमा प्रधानमन्त्री, गृह मन्त्री, प्रहरीका उच्च पदस्थ अधिकारीलाई भेटेर ध्यानकर्षण गराउने र त्यसो हुँदा समेत माग सम्बोधन नभए सबै काम नै ठप्प पार्ने निर्णय भएको बताए । धितोका बारेमा प्रहरीको बुझाइ गलत भएकाले बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाका बारेमा सीआईबी र प्रहरीलाई बुझाउन पहल गर्ने निर्णय समेत बैठकले गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कमसल धितो राखी ठूलो रकम कर्जा प्रवाह गरेको भन्दै मंगलबार प्रभु बैंकका डी–सीईओ मनोज न्यौपाने, तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुल्सीराम गौतम लगायत ११ जनालाई पक्राउ गरेको थियो ।

दर्जन बैंकर्स पक्राउ परेसँगै २० वटै वाणिज्य बैंकका सीईओहरु धरपकडको विरुद्दमा एकजुट भएका हुन् । उच्च सावधानीका साथ ऐन, नियम बमोजिम बैंकिङ कारोबार गरिरहेको अवस्थामा कुनै कारण देखाई बैंकर्समाथि सीआईबीले धरपकड गर्नु निन्दनीय कार्य भएको संघले जनाएको छ ।

न्यून धितोमा अधिकतम कर्जा प्रवाह गरेको आरोपमा एकै पटक दर्जनौं बैंकर पक्राउ परेपछि नेपाल बैंकर्स एसोसिएसन (एनबिए) ले बुधबार आकस्मिक बैठक बोलाएको थियो ।

देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईंलाई कर्जा प्रवाह गर्दा धितोले खाम्ने भन्दा अत्यधिक ऋण दिएको भन्दै उनीहरु अनुसन्धानको दायरामा तानिएका हुन् । सीआईबीले न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतम लगायत अन्यलाई पनि ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।