सेयर लगानीकर्ताको मनोबल बढ्न सकेन, नेप्से स्थिर

0
Shares

सोमबार र मंगलबार नेप्से बढेपनि सेयर लगानीक्र्ताको मनोबल बढ्न नसक्दा बजार मापक नेप्से ०.८७ को झिनो अंकले घटेर बन्द भएको छ । बुधबार नेप्से अंकले घटेर २ हजार दशमलव ७७ बिन्दुमा झरेको छ । यसअघि सेयर बजार सोमबार १३.२८ र मंगलबार ९.३४ अकंले बढेको थियो ।

बुधबार ३०८ कम्पनीको ५१ लाख १५९ हजार ६५८ कित्ता सेयर ४१ हजार ६७९ ओटा संख्यामा किनबेच हुँदा कारोबार २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँमा समेटिएको छ । दैनिक कारोबार रकम भने १६ करोड ८३ लाख रुपैयाँले बढेको हो । अघिल्लो दिन मंगलबार १ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये ६ ओटा उपसूचकमा हरियाली छाएको छ भने ७ ओटा घटेका छन् । यसदिन उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक ४.९६ प्रतिशतले बढेको छ । यस्तै ब्यापार ५.५१ प्रतिशत, लगानी १.०५ प्रतिशत, होटल तथा पर्यटनमुलक, म्युचुअल फन्ड र अन्य सामान्य बढेका छन् । बुधबार विकास बैंक सर्वाधिक १.११ प्रतिशतले घटेको छ भने बैंकिङ, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा घटेको छ ।

आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १२ करोड ६९ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै हिमालयन रि इन्स्यारेन्सको ८ करोड ६ लाख ८९ हजार रुपैयाँ, बोटलर्स नेपाल तराइको ७ करोड ४ लाख २२ हजार रुपैयाँ, शिवम सिमेन्टसको ६ करोड ६७ लाख ८६ हजार रुपैयाँ र हिमालयन डिष्टिलरीको ५ करोड ८३ लाख ९३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबारको बजारमा बोटलर्स नेपाल (बालाजु) लिमिटेड, बिशाल बजार कम्पनी र बोटलर्स नेपाल तराइको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । यससँगै बोटलर्स नेपाल (बालाजु) लिमिटेडको १९ हजार ६४१ रुपैयाँ, बिशाल बजारको ४०२६ रुपैयाँ र बोटलर्स नेपाल तराइको सेयर मूल्य १६ हजार १४४ रुपैयाँ ७० पैसा पुगेको छ । यस्तै विपिडब्लु लघुवित्तको ९.९९ प्रतिशत र चिरख्वा हाइड्रोपावरको ९.६४ प्रतिशतले बढेको छ ।

उता आजको बजारबाट सामलिङ्ग पावरको सेयर मूलय सबैभन्दा धेरै ६.६६ प्रतिशतले घटेको छ। यस्तै गुराँस लघुवित्तको ५.९७ प्रतिशत, मिड सोलु हाइड्रोपावरको ५.२३ प्रतिशत, जाल्पा लघुवित्तको ३.७७ प्रतिशत र सामुदायिक लघुवित्तको ३.७७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।