सर्वोत्तम सिमेन्टको आईपीओमा ओइरियो आवेदन, १९.३२ गुणा माग

0
Shares

सर्वोत्तम सिमेन्टको आईपीओमा अन्तिम दिन बुधबारसम्ममा आवेदनको ओइरो नै लागेको छ । बुक बिल्डिङ्गबाट पहिलो कम्पनीको रुपमा आईपीओ जारी गरेको कम्पनीमा नै १९.२० गुणा आवेदन परेको छ ।

बुक बिल्डिङ्गबाट पहिलो कम्पनीको रुपमा सेयर जारी गरेको यस कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर बिक्रीमा ल्याएपनि आवेदनमा भने उच्च आकर्षण नै देखिएको हो । यसअघि धेरैजसो कम्पनीको अंकित मूल्य १०० रुपैयाँमा आईपीओ बिक्री खुला हुँदै आएको थियो । महङ्गो मूल्यमा बिक्रीमा आएको कम्पनीको सेयर खरिदमा पनि लगानीकर्ताको उत्तिकै आकर्षण देखिएको हो ।

सिमेन्टले सर्वसाधारणबाट २७ लाख ७६ हजार ७६ कित्ता खरिदका लागि आह्वान गरेको थियो । बुधबार साँझ ५ बजेसम्म ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको हो । केन्द्रीय निक्षेप प्रणालीका अनुसार आज साँझ ५ बजेसम्ममा १० लाख १२ हजार ३८४ वटा आवेदनबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ बराबरको सेयर खरिदको माग परेको हो ।

सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि सर्वसाधारणमा स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको अवितरित ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि १८ हजार ४५ रुपैयाँदेखि अधिकतम १० हजार कित्ताका लागि ३६ लाख ९ हजार रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ ५५ हजार ५२१ जना आवेदकले मात्रै न्यूनतम ५० कित्ता सेयर पाउनेछन् ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह–निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।