करेक्सन पछिको शेयर बजारमा सुधार, कारोबारमा उत्साह कायमै

0
Shares

लगातारको वृद्धिपछि सोमबार करेक्सन भएको शेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेपनि उत्साह कायमै देखिन्छ ।

मंगलबार नेप्से ३.३६ अंकले बढेर १३२०.४७ बिन्दुमा पुगेको छ । १८३ कम्पनीका ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर एक अर्ब ५२ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ४५ करोड कम हो ।

छोटो समयमै बजारमा आएको उच्च वृद्धिको बेला अल्पकालीन कारोबारहरु नाफा सुरक्षित गर्न अग्रसर बन्दा बजारमा अघिल्लो दिन केहि करेक्सन आएको थियो । सोमबार अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका उच्च अधिकारी र बैकर्स एशोसिएसनको छलफलले वित्तीय क्षेत्रमा विद्यमान रहेका समस्याहरुको समाधान गर्ने सहमति भएकाले पनि शेयर लगानीकर्ताहरुलाई थप उत्साह जगाएको हो ।

अर्थमन्त्रालयमा सोमबार भएको छलफलमा बैंक ब्याजदर लगायत बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा सुविधा, तरलताको अवस्थामा, कर्जाको स्थिति लगायतमा देखिएका समस्या समाधान गर्ने सहमति बनेको थियो ।

मंगलबार कारोबारमा आएका ६ उप समूहका सूचक बढेका छन भने ६ समूहकै सूचक घटेका छन्। यसदिन कारोबार रकमका आधारमा हिमालयन बैंकको संस्थापक शेयर सबैभन्दा बढी २४ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ । यसैगरि हिमालयन डिष्टलरीकोे १० करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

यसदिन गुराँस लाइफ, ग्लोबल आईएमई बैंक र पाँचथर पावरको शेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ । एनआईसि एशिया ग्रोथ फण्ड र आईसिएफसि फाइनान्सको शेयर मूल्य धेरै घटेको छ ।