माथिल्लो मिदिमखोलाको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो

0
Shares

माथिल्लो मिदिमखोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ  । लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङको मिदिमखोलामा निर्माण गरिएको आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिएको हो ।

भुजुङ हाइड्रोपावर कम्पनीले निर्माण गरेको ७.५ मेगावाटको उक्त आयोजनाप्रवद्र्धक कम्पनी आफैंले निर्माण गरेको ३३ केभीको २६ किलोमिटर सिंगल सर्किट प्रसारण लाइनमा आयोजनाको स्विचयार्डदेखि विद्युत् प्रवाह गरी भोर्लेटार लगिएको छ । आयोजनाबाट फागुन १६ देखि विद्युत् उत्पादन सुरु गरेर आन्तरिक उपकरणहरूको परीक्षण गरिएको हो । यद्यपी विद्युत् आयोजनाको व्यापारिक उत्पादन मिति भने तोकिएको छैन । आयोजना व्यापारिक उत्पादन मितिको पर्खाइमा छ ।

आयोजनाबाट वार्षिक ४२.२५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । आयोजनाको ग्रस हेड ४५७ मिटर छ । प्रवद्र्धक कम्पनीले विद्युत् विकास विभागबाट २०७६ भदौ २६ गते उत्पादन अनुमतिपत्र लिएर २०७७ देखि आयोजनाको निर्माण कार्य थालेको हो । कोरोना संक्रमण जोखिम, बाढीपहिरो लगायत कारणले आयोजनाको निर्माण अवधि लम्बिएका कारण लागत बढ्ने प्रवद्र्धकले बताएको छ । त्यसमा राजमार्गको तथा ग्रामीण सडकको पहिरो तथा बाढीले समस्या बनाउँदा निर्माण कार्य लम्बिएको आयोजनका जनसम्पर्क अधिकृत विनम ज्ञवालीले बताए ।

माथिल्लो मिदिमखोला जलविद्युत् आयोजनामा कुमारी बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । कुल १ अर्ब ४४ करोड रुपैयाँ लागत प्रक्षेपण गरिएको आयोजनामा २५ प्रतिशत इक्विटी (स्वपुँजी) प्रवद्र्धक आफैंले जुटाएको छ । प्रवद्र्धक मिदिमखोलाले विद्युत् आयोजनाबाट बिजुली उत्पादनपछि ५ वर्षसम्म सञ्चालत तथा मर्मतसम्भार, विद्युत् उत्पादन, कर्मचारी भर्नादेखि व्यवस्थापकीय कार्य सबै इन्फ्रा प्रालिले गर्ने सम्झौता गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।