साना उद्योगका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाको जोड

0
Shares

स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रुपमा मङ्गलबार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगहरुका लागि ट्रेडमार्क तथा बौद्घिक सम्पत्ति संरक्षण’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् ।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकहरुमा डब्लुटिओको नियम कानुन अन्तरगत रही आफना उत्पादनहरु अन्य सदस्य मुलुकहरुमा निर्यात गर्दै आएको बताउँदै भने – ‘यस अवस्थामा नेपालमा उत्पादन हुने कतिपय वस्तुहरु अन्य मुलुकहरुमा समेत उत्पादन हुने गर्दछन् । यसरी उत्पादित वस्तुहरु मुल रुपमा नेपालबाट उत्पादन सुरु भएपनि अन्य मुलुकहरुले यस्ता वस्तुहरुको प्रतिलिपी उतारगरी उत्पादन गरिदिनाले नेपालको मौलिक, सांस्कृतिक, हस्तकला तथा अन्य वस्तुहरु समेतमा नेपालको हक कायम नभइदिंदा भविश्यमा अन्य मुलुकले यस्ता वस्तुको पेटेन्ट दर्ता गर्न सक्ने र हाम्रा उत्पादनहरुलेउल्टै रोयल्टी तिर्नुपर्ने वा यस्ता वस्तु उत्पादन नै गर्न नपाउने अवस्थाको सिर्जना हुन सक्छ ।’

उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बौदिक सम्पत्ति भनेको अत्यन्तै महत्वपूर्ण कुरा भएकोमा जोड दिंदै भने – ‘उद्योगको कुरा गर्दा कुल जीडीपीको छ प्रतिशत उद्योगको योगदान छ त्यसमध्ये ८० प्रतिशतभन्दा बढी साना तथा घरेलु उद्योगको योगदान रहेको छ । साना व्यवसायीले उत्पादन गर्छन, दुःख गर्छन, थुप्रै सामानको सिर्जना हुन्छ, सिर्जनामा उनीहरुकै ट्रेडमार्क सुरक्षित हुँदैन ।’

एकदिने कार्यशाला गोष्ठीमा लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनमा लागेका करिब एक सयजना व्यवसायीहरुको सहभागिता रहेकको कार्यक्रमका सहजकर्ता रुपक सापकोटाले जानकारी दिए ।