तीन कम्पनीको ५६ करोडको बोनस सेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार तीन कम्पनीको ५५ करोड ९५ लाख ३९ हजार १०० रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ५५ लाख ९५हजार ३९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार जीवन विकास लघुवित्तको चुक्ता पुँजीको १४ प्रतिशतले हुन आउने १६ लाख ५४ हजार ८४७ कित्ता, हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजीको ८.६३ प्रतिशतले हुन आउने १९ लाख ८६ हजार २२४ कित्ता र यूनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।

बिहीबार सूचीकृत बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले डिम्याट खातामा बोनस सेयर जम्मा भएपछि खरिद बिक्री गर्न सक्नेछन् ।

जीवन विकास लघुवित्तको गत पुस २९ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुकक्लोज गरेकाले पुस १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र कम्पनीको आज सूचीकृत भएको बोनस पाउनेछन् ।

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सको माघ २५ गते सम्पन्न भएको ३० औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका सहित ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुकक्लोज गरेकाले माघ १३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र कम्पनीको आज सूचीकृत भएको बोनस पाउनेछन् ।

यस्तै यूनाइटेड अजोड इन्स्योरेन्सको गत फागुन ६ गते आइतबार सम्पन्न भएको ३० औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २२ गते बुकक्लोज गरेकाले माघ २१ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र कम्पनीको आज सूचीकृत भएको बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।