पाठेघरको क्यान्सर रोकथाम सचेतानामा एनसेलको सहकार्य, मार्चदेखि सुरु हुने


पाठेघरको मुखको क्यान्सरको परिक्षण र रोकथामका लागि सचेतना अभियान सञ्चालन हुने भएको छ ।

निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनल नेपालले अभियान सञ्चालन गर्न लागेका हुन् ।

अभियान लागू हुने जिल्लाहरुमा पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पु¥याउने उद्धेश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरु मध्ये पहिलो स्थानमा पर्दछ, जसको कारण महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको तथ्याङ्कले देखाउछ । सन् २०२२ मा मात्रै २ हजार १६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुनुका साथै १ हजार ३१३ जनाले आफ्नो ज्यान गुमाएका थिए ।

यो अभियान संचालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक संजाल र मेरी स्टोप्स इन्टरनेशनल नेपालको समुदाय स्तरमा रहेको उपस्थितिको उपयोग गरिने बताइएको छ । यस बाहेक यस अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी फैलाउन विभिन्न सञ्चार माध्यमहरू प्रयोग गरिने विज्ञप्तिमा उल्लेख छ ।

मार्च २०२४ देखि सञ्चालन हुने यस सचेतना अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरु संचालन गरिनेछन् ।

एनसेलको सेवा सञ्जालको पहुँचलाई उपयोग गर्दै यस अभियानका लागि पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपूर्ण जानकारी प्रवाह गरिनेछन् । त्यसैगरी आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक संलग्नता लगायत विभिन्न सञ्चार माध्यमको प्रयोग गरिने एनसेलले जनाएको छ ।

सचेतना अभियान अन्तर्गत संचालन गरिने मुख्य मुख्य क्रियाकलापहरूमा आमसञ्चार माध्यमद्वारा सचेतनामूलक अभियान संचालन गर्ने; पाठेघरको मुखको क्यान्सरको रोकथाम र उपचारसम्बन्धी जानकारीलाई लक्षित समूहसम्म प्रभावकारी ढंगले पु¥याउन विभिन्न सरकारी निकायहरु तथा संघसंस्थाहरूसँग सहकार्य तथा साझेदारी गर्ने; टेलिभिजन र रेडियोमा विशेष कार्यक्रम तथा विशेष कुराकानीमा आधारित कार्यक्रम (टक शो) हरू संचालन गर्नुका साथै रेडियो स्टेशनहरूमा जनहितमा जारी सूचनाहरू सम्प्रेषण गर्ने बताइएको छ ।

अभियानलाई प्रवद्र्र्घधन गर्न र अभियानसम्बन्धी सचेतनामूलक संदेशहरू प्रवाह गर्न सोशल मिडिया इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्ने; पाठेघरको मुखको क्यान्सर रोकथाम र खोपसम्बन्धी सचेतनामुलक दृश्य श्रव्य सामग्रीहरु तयार पारी प्रसारण गर्ने; एनसेलसँग सहकार्यमा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘वाकाथन’ को आयोजना गर्ने; अभियानका संदेशलाई आउटबाउन्ड रिङटोन र एसएमएसमार्फत लक्षितवर्गसम्म पु¥याउने आदि जस्ता कार्यक्रमहरु रहेका छन् ।

यसबाहेक यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेरी स्टोप्स इन्टरनेशनल नेपालले ५० जना सेवाग्राहीहरूलाई निःशुल्क स्क्रिनिङ सेवा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।