काठमाडौँ । भदौ १० गते रसुवाको माथिल्लो ल्हेन्दे खोला जलाधार क्षेत्रमा आएको भीषण चट्टान तथा हिमपहिरोपछि भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले मुलुकको अर्थतन्त्रदेखि पूर्वाधार र सर्वसाधारणको जनजीवनसम्म गम्भीर धक्का दिएको छ।
बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकनअनुसार मुलुकले करिब ४ खर्ब ८२ अर्ब ८० करोड ९१ लाख रुपैयाँ बराबरको भौतिक तथा आर्थिक क्षति बेहोरेको छ। यो रकम चालु आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ६.६९ प्रतिशत बराबर हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय योजना आयोग र विभिन्न मन्त्रालयसँगको समन्वयमा तयार पारेको प्रारम्भिक प्रतिवेदनले बाढीको असर निकै गहिरो रहेको देखाएको हो। अमेरिकी डलरमा हिसाब गर्दा क्षतिको रकम करिब २ अर्ब ६९ करोड ५३ लाख डलर बराबर पुग्छ।
क्षति मात्र होइन, प्रभावित क्षेत्रलाई पुनःस्थापित गर्दै पूर्वाधार निर्माण र दीर्घकालीन पुनरुत्थानमा समेत ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ। प्रारम्भिक आकलनअनुसार बाढी प्रभावित क्षेत्रको दिगो पुनरुत्थान, पुनर्स्थापना र पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ। यो रकम नेपालको वार्षिक जीडीपीको ११.८४ प्रतिशत बराबर हो।
बाढीले मानवीय क्षतिको चित्र पनि भयावह बनाएको छ। प्रारम्भिक विवरणअनुसार हालसम्म १ हजार ३७७ जनाको शव तथा मानव अवशेष फेला परिसकेको छ। अझै ५ हजार १३० जना बेपत्ता रहेको प्रतिवेदनमा उल्लेख छ। उद्धार तथा राहतका क्रममा सुरक्षा निकायले १३ हजार ६७६ जनालाई जीवितै उद्धार गरेको छ। बाढीमा घाइते भएका ३३७ जनाले विभिन्न १९ वटा अस्पतालबाट उपचार सेवा लिएका छन्। त्यसबाहेक नेपाली सेना र सशस्त्र प्रहरीका टोलीले घटनास्थलमै पुगेर ७ हजारभन्दा बढी नागरिकलाई प्राथमिक उपचार उपलब्ध गराएका छन्।
हजारौं परिवार घरबारविहीन
बाढीको प्रत्यक्ष प्रभाव निजी आवासमा पनि परेको छ। प्रभावित कोरिडोरमा रहेका १५ स्थानीय तहमा ७ हजार ५७० वटा निजी घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। यसबाट ८ हजार ३१७ घरधुरीका ३२ हजार ९६३ जना प्रभावित भएका छन्।
क्षतिग्रस्त घरमध्ये सबैभन्दा ठूलो हिस्सा नुवाकोटको विदुर नगरपालिकामा परेको छ। त्यहाँ मात्रै ३ हजार २६ वटा घर क्षतिग्रस्त भएका छन्। रसुवामा १ हजार ७७९, धादिङमा १ हजार ४५१, गोरखामा २६३ र चितवनमा १०० घरमा क्षति पुगेको छ।
घर गुमाएका सबै परिवार अझै सुरक्षित र स्थायी आवासमा पुग्न सकेका छैनन्। रसुवा, नुवाकोट र धादिङका ३७ वटा अस्थायी शिविरमा ३ हजार ६८५ जना बसिरहेको प्रतिवेदनले देखाएको छ। अन्य धेरै विस्थापित आफन्त तथा छिमेकीको आश्रयमा रहेको जनाइएको छ।
घर र घरायसी सम्पत्तिमा मात्रै ६३ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सुरक्षित पुनर्निर्माण र अस्थायी आवास व्यवस्थापनका लागि मात्रै ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
जलविद्युत् आयोजनादेखि प्रसारण लाइनसम्म प्रभावित
बाढीले सबैभन्दा ठूलो क्षति भौतिक पूर्वाधार क्षेत्रमा पुर्याएको छ। प्रारम्भिक प्रतिवेदनअनुसार पूर्वाधार क्षेत्रमा मात्रै १९ अर्ब ४ करोड ३९ लाख रुपैयाँ बराबरको क्षति तथा सेवा अवरुद्ध हुँदा आर्थिक नोक्सानी भएको छ। क्षतिग्रस्त पूर्वाधारलाई पुनः सञ्चालनयोग्य अवस्थामा ल्याउन ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ। यो कुल पुनर्निर्माण आवश्यकताको ६५.४७ प्रतिशत हो।
ऊर्जा क्षेत्रमा पनि बाढीको असर व्यापक देखिएको छ। प्रभावित कोरिडोरमा रहेका ७५९ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन्। तीमध्ये २५०.४ मेगावाट क्षमताका सात आयोजना सञ्चालनमा थिए भने ५०८.६ मेगावाट क्षमताका छ आयोजना निर्माणाधीन थिए।
यसैगरी २४.३६ मेगावाट क्षमताका पाँच सोलार प्लान्ट तथा प्रसारण लाइनमा पनि क्षति पुगेको छ। ऊर्जा क्षेत्रको भौतिक क्षति १ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने विद्युत् उत्पादन अवरुद्ध हुँदा थप १६ अर्ब ३४ करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान छ।
ऊर्जा क्षेत्रलाई पुनःनिर्माण गर्न मात्रै ३९ अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनले देखाएको छ।
चीनसँग जोड्ने व्यापारिक मार्गसमेत तहसनहस
बाढीले नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण मानिने गल्छी–त्रिशूली–बेत्रावती–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा पनि ठूलो क्षति पुर्याएको छ।
कुल ६९ किलोमिटर सडकमा क्षति पुगेकोमा बेत्रावती–रसुवागढी खण्डको ५५ किलोमिटर सडक पूर्ण रूपमा बगेको प्रतिवेदनमा उल्लेख छ।
सडक पूर्वाधारमा मात्रै २ अर्ब २० करोड ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने यातायात अवरुद्ध हुँदा थप १ अर्ब ३५ करोड रुपैयाँ नोक्सानी भएको आकलन गरिएको छ। सडक पुनर्निर्माणका लागि करिब ५५ अर्ब १८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
बाढीले नदी तथा खोलामाथि निर्माण गरिएका पुलहरूमा पनि व्यापक क्षति पुर्याएको छ। चार जिल्लामा रहेका ३७ वटा पक्की मोटरेबल पुलमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने चारवटामा आंशिक क्षति पुगेको छ। बगेका पुलको कुल लम्बाइ २ हजार ७९२ मिटर रहेको छ। नुवाकोटमा मात्रै १४ र रसुवामा १३ वटा पुल बगेका छन्।
यसका अतिरिक्त ६८ वटा झोलुङ्गे पुल पनि क्षतिग्रस्त भएका छन्। सबै पुल पुनर्निर्माण गर्न १८ अर्ब १६ करोड १७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
खानेपानी र सिँचाइ संरचनामा पनि ठूलो क्षति
बाढीले खानेपानी आपूर्ति प्रणालीलाई समेत गम्भीर असर पुर्याएको छ। ९८ वटा इन्टेक, १६० वटा रिजर्भ्वायर ट्यांकी र ४४३ किलोमिटर पाइपलाइन बग्दा करिब १ अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
त्यस्तै, २५ वटा सिँचाइ आयोजना, करिब पाँच किलोमिटर तटबन्ध र छ वटा जलमापन केन्द्रमा क्षति पुगेको छ। यी संरचनामा मात्रै १६४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।
खानेपानी, सिँचाइ तथा सम्बन्धित संरचनाको पुनर्निर्माणका लागि करिब ४ अर्ब ९४ करोड रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।





प्रतिक्रिया