एसियाली विकास बैंकका देशीय निर्देशकद्वारा अर्थमन्त्री पुनसँग शिष्टाचार भेट


एसियाली विकास बैंक (एडिबी) को नेपालका लागि देशीय निर्देशक आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन् ।

अर्थ मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय साझेदारी मजबुत बनाउने र सम्भावित आयोजनामा लगानीका लागि थप सहकार्य गर्ने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । भेटका क्रममा निर्देशक कोशवाले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुन: डिजाइनको काम अन्तिम चरणमा रहेको जानकारी दिए ।

विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलासययुक्त दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम चाँडै सुरु हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

जवाफमा अर्थमन्त्री पुनले प्रमुख विकास साझेदार एडिबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा व्यक्त गरे । दूधकोशी र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता पनि उनले जनाए ।

नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगानी साझेदारी गर्न गइरहेकोमा पनि अर्थमन्त्री पुनले खुसी व्यक्त गरे । “दूधकोशी जलाशययुक्त र माथिल्लो अरुण नदी प्रवाहमा आधारित ठूला आयोजनामध्येका हुन् । म ऊर्जामन्त्री छँदा सुरु भएका यी आयोजनालाई प्राथमिकतामा राखेकामा एडिबीलाई धन्यवाद दिन चाहन्छु”, अर्थमन्त्री पुनले भने ।

नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले त्यसमा सुधार गर्न क्षमता अभिवृद्धि र जनशक्ति विकासमा कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिएका छन् । युवा वर्ग लक्षित रोजगारीका कार्यक्रम ल्याउने तथा निजी क्षेत्र र आमजनतामा आशा जगाउने गरी काम गर्ने आशा पनि उनले व्यक्त गरे । अर्थमन्त्री पुनले नेपालमा लगानी बढाउन पनि एडिबीलाई आग्रह गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ फागुन २०८०, मंगलबार  १८ : ०३ बजे