ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उप–समितिमा विष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति

0
Shares

ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उप–समितिले विष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । ग्रील तथा स्टील व्यवसायी महासंघ अन्तरगत रहेको महिला उप–समितिको सोमबार राजधानीमा सम्पन्न राष्ट्रिय भेला तथा प्रथम अधिवेशनबाट विष्णुमाया उचहीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

महिला उप–समितिको उपाध्यक्षमा देवी कार्की (रुपन्देही), सचिवमा सर्मिला कार्की (रिमाल) काठमाडौं, कोषाध्यक्षमा सरिता प्रधान (मकवानपुर) चयन भएकी छिन् । यसैगरी सदस्यहरुमा सम्झना सिलवाल (चितवन), सृजना भट्टराई (सुनसरी), प्रभा घिमिरे (पश्चिम नवलपरासी), तारा बुढाथोकी (पोखरा), गीता खम्चा (नवलपुर) सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्ष उचहीले आफ्नो नेतृत्वमा ग्रील तथा स्टील व्यवसायी महासंघमा आवद्ध महिला सदस्यहरुको साझा समितिलाई नयाँ आयामबाट माथि उठाउन प्रतिबद्घ भएर लाग्ने बताइन् । यस्तै समग्र ग्रीलजन्य व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा व्यक्त गरिन् ।

महिला उप–समितिको भेलाको उद्घाटन समारोहमा प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानामगरले महिलाहरु आर्थिक रुपमा सबल भएमात्रै देशको अर्थतन्त्र सबल हुने बताइन् । संघर्षसँग नडराउने व्यक्तिले नै संसार जित्न सक्ने भन्दै उनले संघर्षबाट नआत्तिन आग्रह गरिन् । महिलाहरु अगाडी बढेर जोखिमपूर्ण व्यवसायका रुपमा रहेको ग्रीलजन्य काममा लाग्ने महिला दिदीबहिनीहरुलाई निर्धक्क भएर अगाडि बढ्न आग्रह गरिन् ।
आम महिलाको बारेमा नीतिगत रुपमा राज्यले र व्यवहारीक रुपमा समाजले समान धारण बनाउन सके अहिलेको विभेदको अवस्था अन्त्य हुने उनको भनाई थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु घरेलु तथा साना उद्योग सञ्चालन र प्रवद्र्धनमा महिलाको उच्च भूमिका रहने भन्दै महिला उपसमितिका रुपमा संगठित हुँदै जानु खुशीको कुरा भएको बताइन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले महिला अधिकारको अन्तर्राष्ट्रियदेखि राष्ट्रिय स्तरसम्ममा भएका प्रगतिहरुको बारेमा चर्चा गर्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल मातहतमा रहेका र कानुनी मर्यादा तथा व्यवसायीक स्वास्थ्य र सुरक्षा अपनाएर कार्य गर्ने व्यवसायीहरुलाई कुनै किसिमको दुःख र असुविधा आइपरेमा जस्तो अवस्थामा पनि आफू सहयोग गर्न तयार रहेको बताइन् ।

महिला उप–समितिको भेलाको उद्घाटन समारोहमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष मोहन कटुवाल, ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष केदार अधिकारी, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका सल्लाहाकार तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ, नेपाल ग्रील व्यवसायी संस्था २०५० का संस्थापक अध्यक्ष मधु बहादुर कार्की, कादम्बरी मेमोरीयल कलेजको संस्थापक प्रिन्सिपल तथा महिला शसक्तिकरण अभियानकी अभियन्ता प्रदिप्ता कादम्बरी, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका महासचिव विवेकदास श्रेष्ठल लगायतले आफ्नो धारणा राखेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।