एडीबीद्वारा बङ्गलादेशलाई सात करोड १० लाख डलर ऋण स्वीकृत

0
Shares

एसियाली विकास बैंक (एडीबी) ले बङ्गलादेशमा जलस्रोत व्यवस्थापन (बाढी नियन्त्रण तथा सिँचाइ) का लागि सात करोड १० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

गोपालगञ्ज र मदारीपुर जिल्लाका ग्रामीण समुदायमा यस परियोजनाले जलवायु परिवर्तनको प्रभावका लागि उनीहरूको तयारी र लचिलोपनलाई बलियो बनाउने बैङ्कले एक प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

विश्वव्यापी जलवायु परिवर्तन प्रभाव सूचकाङ्कको आधारमा बङ्गलादेश जलवायु जोखिमको सातौं स्थानमा छ । बङ्गलादेशले चरम मौसमी समस्या र जलवायु घटनाहरूको तीव्रताको सामना गरिरहेको बैङ्कले जनाएको छ ।

यस परियोजना अन्तर्गत छ लाखभन्दा बढी मानिसहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । परियोजनाले जलवायु प्रभाव व्यवस्थापन, बाढी नियन्त्रण, जल निकासी र सिँचाइका उपायहरू अवलम्बन गर्ने एडीबीले जनाएको छ ।

एडीबीको सहयोगले आर्थिक वृद्धि र उत्पादकतालाई थप बढावा दिनेछ भने आय र दिगो जीविकोपार्जन बढाउनेछ । विशेष गरी महिला र कमजोर समूहहरूका लागि र दक्षिण पश्चिम बङ्गलादेशको ग्रामीण क्षेत्रमा गरिबी घटाउने एडीबीका वरिष्ठ परियोजना व्यवस्थापन विशेषज्ञ पुष्कर श्रीवास्तवले बताए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।