मध्य भोटेकोशीले डेढ अर्बको आईपीओ जारी गर्न बोर्डमा दियो आवेदन

0
Shares

मध्य भोटेकोसी जलविद्युत आयोजनाले स्थानीय र सर्वसाधारणका लागि एक अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने ६० लाख कित्ता अर्थात ६० करोड बराबरको शेयर जारी गर्नेछ भने यसैगरी सर्वसाधारणका लागि १५ प्रतिशतले हुन आउने ९० करोड बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

मध्य भोटेकोसी जलविद्युत आयोजनाले एक अर्ब ५० करोड बराबरको शेयर मूल्यको प्रत्याभूतिका लागि कोषसँग सम्झौता गरिसकेको छ ।

आयोजनाले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका बचतकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि एक अर्ब ४४ करोड बराबरको १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

आयोजनाका कार्यकारी अधिकृत मणिकुमार दाहालका अनुसार संस्थापक सेयरधनीतर्फ छुट्याइएको ५१ प्रतिशतको शतप्रतिशत असुल भएको छ । बाँकी ४९ प्रतिशतमध्ये आयोजनले कर्मचारी सञ्चय कोषका बचतकर्ताहरुका लागि १९.५ प्रतिशत अर्थात लागि १ करोड १७ लाख कित्ता, संस्थापक संस्थाका कर्मचारी कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता तथा ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि एक प्रतिशत अर्थात ६ लाख कित्ता शेयर वितरण गरेको थियो । अब आयोजनाले स्थानीलाई १० तथा सर्वसाधारणलाई १५ प्रतिशत शेयर बिक्री गर्नेछ ।

यस्तो छ आयोजना

मध्य भोटेकोसी सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी ६ अर्ब २१ करोड रुपैंया छ भने जारी पूँजी ६ अर्ब रुपैंया छ ।

आयोजनाबाट वार्षिक ५९ करोड युनिट विक्री योग्य विद्युत उत्पादन हुने अनुमान छ। चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा बन्न लागेको यो आयोजना सिन्धुपाल्चोको सबैभन्दा ठूलो हो।

व्याजसहित १५ अर्ब रूपैयाँ लागतमा बन्ने आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु गरी सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध नभएका कारण आयोजनाको म्याद थप गरिएको थियो । संसोधित कार्यतालिकाअनुसार आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ। आयोजनामा कर्मचारी सञ्चय कोषले ६ अर्ब २१ करोड ऋण प्रवाह गरेको छ।

आयोजनाबाट वार्षिक वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ ।आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक रुपमा दुई अर्ब ९० करोड ४३ लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

कसको कति लगानी ?

आयोजनामा चिलिमेको ३८, नेपाल विद्युत प्राधिकरणको १० तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एकरएक प्रतिशत संस्थापक शेयर रहने छ । सर्वसाधरणलाई १५, प्रभावित जिल्लाबासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९.५, आयोजनामा कार्यरत कर्मचारीलाई ३.५ प्रतिशत र ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीको एक प्रतिशत शेयर लगानी रहनेछ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।