नेपालगञ्ज–गुलरिया सडक धमाधम कालोपत्र हुँदै


हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगञ्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताए ।

“यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न गर्ने तयारीका साथ लागिपरेका छौँ”, उनले भने,“समयमै बजेट व्यवस्थापन हुनसकेमा आगामी एक वर्षभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ काम भइहेको छ ।”

नन्दनी मिलबाट सुरु भएको कालोपत्रको काम अहिले जानकी गाउँपालिकाको मानपुर क्षेत्रसम्म पुगेको छ । सडक कालेपत्र भएपछि आवागमनमा सहज भएको जानकी गाउँपालिका–४ का स्थानीय अगुवा पदम धितालले बताए । “सडक निर्माणको काम धमाधम भइरहेको छ, निर्माणका क्रममा हिलो र धुलो भए पनि अहिले पक्की बनेपछि सजिलो भएको छ”, उनले भने, “हुलाकी सडकले अब नेपालगञ्ज आउन जान धेरै सजिलो बनाएको छ ।”

एघार दशमलव छ किलोमिटर चार‘लेन’ र १६ दशमलव दुई किलोमिटर दुई लेन गरी सत्ताइस दशमलव ६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गतेदेखि निर्माण सुरु भएको हो ।

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि करबाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको हो । एक वर्षको अवधिमा करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ चैत २०८०, बुधबार  ०९ : ०८ बजे