चार दिनमा ग्लोबल आइएमई बैंकको ८१ करोडको शेयर कारोबार

0
Shares

यो साता नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आइएमई बैंकको सबैभन्दा उच्च कारोबार भएको छ । बैंकको शेयर चार कारोबार दिनमै झण्डै ८१ करोड बराबरको किनबेच भयो।

जनता बैंकसँग मर्जर प्रक्रियाका कारण साढे ६ महिनापछि गत सोमबार मात्र बैंकको शेयर कारोबार खुलेको थियो । लामो समयपश्चात कारोबार खुलेको र कारोबार खुलेपछि लगातार तीन दिन उच्चदरले शेयरमूल्य समेत बढेपछि नाफा सुरक्षित गर्ने होडले उच्च कारोबार भएको हो ।

साथै मूल्य बढ्दा जनता बैंकका शेयर होल्डरहरु बढी नाफामा रहेकाले जनताबाट ग्लोबलमा आएको शेयरको बढी किनबेच भएको आँकलन गरिएको छ ।

कारोबार खुलेको पहिलो दिन सोमबार शेयर मूल्यमा सर्किट लागेर सामान्य किनबेच भएको बैंकको मंगलबार ३ करोड ९० लाख बराबको कारोबार भएको थियो । यस्तै बुधबार ६१ करोड बढीको कारोबार हुँदा बिहीबार १५ करोड ५१ लाख बराबरको कारोबार भएको थियो ।

चार कारोबार दिनमा बैंकको २६ लाख २९ हजार कित्ता शेयर ८० करोड ६२ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। मर्जपश्चात २५२.४७ रुपैयाँ कारोबार खुलेको बैंकको शेयर मूल्य ३१० रुपैयाँसम्म पुगेको थियो । अन्तिम दिन बिहीबार २९६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यस साता नेप्सेमा साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। २ करोड ५१ लाख २ हजार कित्ता शेयर ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ बराबरमा किनबेच भयो । नेप्से सूचक भने १२.७९ अंक घटेर एक हजार ३१०.२३ बिन्दुमा बन्द भएको छ ।