३ दिने लुम्बिनी कन्लेभ सुरु, ४० देशका कूटनीतिज्ञ र कन्सुलरसँग शुक्रबारदेखि छलफल


भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा “समृद्धिका लागि विश्व शान्ति” विषयमा अन्तर्राष्ट्रिय कन्क्लेभ सुरु भएको छ । मार्च २१ देखि २३ सम्म ३ दिन चल्ने सम्मेलनको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार अनौपचारिक उद्घाटन गरेका छन् ।

शुक्रबार र शनिबार कन्क्लेभका विभिन्न सेसनहरु आयोजना हुनेछन् । कार्यक्रममा नेपालमा राजदुतावास नभएका तर नेपाललाई प्रतिनिधित्व गर्ने विभिन्न १८ देशका राजदूत तथा प्रतिनिधि, नेपालका लागि विभिन्न देशका अवैतनिक वाणिज्यदूत, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, परराष्ट्र तथा सम्पदा विज्ञलगायतको उपस्थिति रहेको छ ।

कुल ४० मुलुकका कूटनीतिज्ञ र कन्सुलरहरुसँग कन्क्लेभमा समृद्धिका विषयमा बहस हुने आयोजकको भनाई छ । कन्क्लेभमा सहभागि हुनका लागि विभिन्न मुलुकबाट पाहुनाहरु आउने क्रम जारी रहेको पनि आयोजकले जनाएको छ । कन्क्लेभका मुख्य कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुनेछ ।

परराष्ट्र मन्त्रालय र नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुको संस्था अन्तर कन्सुलर कर्प नेपाल (एचसिसीएन) को संयुक्त आयोजनामा कन्क्लेभ सुरु भएको हो । बिहीबार कन्क्लेभका अनौपचारिक कार्यक्रमहरु अन्तरगत विभिन्न मुलुकका पाहुनाहरुलाई लुम्बिनी भ्रमण गराइएको छ । मौलाकालिका केबलकारबाट मन्दिर पुगेर फर्किएपछि परराष्ट्रमन्त्री श्रेष्ठका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायत लगानी बोर्ड, नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी विकास कोषका उच्च अधिकारीहरुसँग अनौपचारिक छलफल पनि बिहीबार साँझ हुने आयोजकले जनाएको छ ।

बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, पर्यटन अभिवृद्धि, नेपालमा लगानी अभिवृद्धि तथा विश्व भाइचारा अभिवृद्धि गर्ने उद्देश्य लिएको उक्त सम्मेलनको अन्त्यमा शान्ति सन्देशसमेत जारी गरिने आयोजकले जनाएको छ । सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिने कार्यक्रम छ ।

नेपालमा लगानी र पर्यटन को सम्भावनामा नेपाल सरकारको दुईवटा प्रस्तुति रहने कन्क्लेभले आगामी लगानी सम्मेलनलाई सघाउने आयोजकको विश्वास छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।