सुन तस्करी प्रकरण : उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा


सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा भएका छन् । 
 
महरालाई उनका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का  प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोलीले पूर्वसभामुख महराको बयान सकिएपछि उनलाई आज हाजिरी जमानीमा रिहा गरिएको हो । 
 
यसअघि आजै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालय र ब्यूरोको टोलीले पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिएका थिए ।  महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।
 
 
सुनको अवैध तस्करी एवम् नियन्त्रणसम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ब्यूरोले महरालाई पक्राउ गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।