धितोपत्र बजारमा नेपालीसरह लगानी गर्ने वातावरण बनाउन एनआरएनएको आग्रह

0
Shares

गैरआवासीय नेपाली संघ, नेपाल (एनआरएनए)ले आव ०८१/८२ को वार्षिक बजेट नीति तथा कार्यक्रममा समावेश गर्न आफ्नो सुझाव पेस गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले समृद्ध नेपालको अभियानमा विदेशमा रहेका नेपालीलाई सहभागी गराउने गरी बजेट एवं नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे ।

धितोपत्र ऐन तथा नियमावलीमा संशोधन गरी गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन र नेपालीसरह लगानी गर्ने वातावरण बनाउन आग्रह गरिएको छ । गैरआवासीय नेपाली ऐनमा रहेको लगानीसम्बन्धी व्यवस्थालाई विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा समायोजन गराई सहजीकरण गर्न भनिएको छ ।

वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिक रूपमा बैँकिङ च्यानलमार्फत ल्याउन प्रोत्साहन गर्न, विप्रेषण पठाउने नेपालीलाई उनीहरूले पठाएको विप्रेषणमा २ प्रतिशतका दरले थप अनुदान उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने संघले सुझाएको छ ।

संघले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, मताधिकार, लगानी प्रवर्द्धनलगायत विषय समेट्न सुझाव दिएको छ । गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिलाई यसै आवबाट राष्ट्रिय परिचयपत्रको व्यवस्था, मतदानको अधिकार, अध्यागमनमा सहज व्यवस्था गर्न संघको सुझाव छ ।

नेपालमा रोजगारी सिर्जना, उद्यमशीलता तथा पूर्वाधार विकाससँगै समृद्ध नेपाल निर्माणका लागि गैरआवासीय नेपालीको लगानी, ज्ञान, सीप र प्रविधि प्रोत्साहन गर्न आवश्यक कानुनी तथा नीतिगत बाधा–अड्चन हटाउन पनि सुझाव दिइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।