ललितपुर महानगर प्रमुख महर्जन र न्यूयोर्कका पर्यटन प्रवर्द्धक श्रेष्ठबीच पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्यबारे छलफल


ललितपुरमा विदेशी पर्यटकहरुको सङ्ख्या बढाउने र पर्यटकमैत्री वातवरण निर्माण गर्ने विषयमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र न्युयोर्कका नवनियुक्त पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबीच छलफल भएको छ ।

अमेरिकाको न्युयोर्कमा भएको भेटमा महानगर प्रमुख महर्जन र पर्यटन प्रवद्र्धक श्रेष्ठले पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्यबारे छलफल भएको श्रेष्ठले जानकारी दिए । 

भेटवार्तामा महानगर प्रमुख महर्जनले ललितपुर महानगरपालिकालाई पर्यटक मैत्री सहरका रुपमा विकास गरिएको र थप गन्तव्यहरु पहिल्याउने काम तीव्र बनाइएको बताएका थिए  । दुई पक्षीय भेटमा प्रवद्र्धक श्रेष्ठले पर्यटकका लागि आवश्यक सूचना र सडक सुरक्षाका विषयमा चासो राखेका थिए ।

महानगरपालिकाले नेपाल अवतरण गर्ने हरेक विमानमा ललितपुर महानगरपालिकाका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने पुस्तिका राख्ने प्रक्रिया थालिएको उनले जानकारी दिए  । उनले सडकलाई सुरक्षित बनाउनका लागि महानगरले विभिन्न योजना अघि बढाएको समेत बताए  ।

पुरातात्विक क्षेत्र, कला र संस्कृतिका धरोहरहरुको पुनः निर्माण र संरक्षणमा शून्य सहनशीलता अपनाइएको भन्दै अन्तरराष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसारको खाँचो रहेको उनको भनाइ थियो । भेटवार्तामा पर्यटन प्रवद्र्धक श्रेष्ठले यसका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिए । प्रमुख महर्जन विश्व बैङ्कले आयोजना गरेको यातायात व्यवस्थापनसम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका थिए । 

 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ चैत २०८०, सोमबार  ०६ : ०५ बजे